स्पेनिस ला लिगा फुटबलमा आइतबार रियल मड्रिड र एथ्लेटिको मड्रिडबीच महाभिडन्त हुँदैछ। ‘मड्रिड डर्बी’ भनेर परिचित सो खेल नेपाली समयअनुसार साँझ ७ बजे शुरु हुनेछ।
एथ्लेटिको मड्रिड ला लिगाको मुख्य उपाधि दाबेदार टोली हो। त्यसो त, रियल मड्रिड र बार्सिलोना पनि उपाधि दौडमा नै रहेका छन्। मड्रिड डर्बीको खेललाई धेरैले उपाधि दौडको रोचक महाभिडन्त भन्दै व्याख्या गरिरहेका छन्। एकै शहरका दुई ठूला क्लबबीचको भिडन्तलाई धेरैले प्रतिक्षा गरिरहेका छन्।
हाल एथ्लेटिको मड्रिड २४ खेलबाट ५८ अंक बटुल्दै तालिकाको शीर्षस्थानमा छ। २६ खेलबाट ५६ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा रहँदा रियल २५ खेलबाट ५३ अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा छ। मड्रिड डर्बीको नतिजाले उपाधि दौडलाई केही हदसम्म प्रभाव पार्नेछ। तेस्रो स्थानमा रहेको रियल विजयी भएमा रियल र बार्सिलोनाले एथ्लेटिकोसँगको अंक दुरी २ मा झार्नेछन्। एथ्लेटिको विजयी भएमा उसले शीर्षस्थानमा एक खेल अगावै दोस्रो स्थानको बार्सिलोनासँग ५ अंकको र रियलसँग ८ अंकको अग्रता बनाउने छ।
रियलले एथ्लेटिकोलाई पराजित गर्न सकेमा बार्सिलोना र रियल दुबै टोली उपाधि यात्रामा थप बलियो बन्नेछन्। सिजनको शुरुवातमा उच्च लयमा रहेको एथ्लेटिको पछिल्ला खेलहरुमा धर्मराएको छ। पछिल्लो ५ खेलमध्ये उसले २ खेलमात्र जीतेको छ। रियलले पछिल्लो ५ खेलमध्ये ४ खेलमा जीत निकालेको छ।
हालसम्म दुई टोलीले ४६ खेलमा एकअर्काको सामना गरेका छन्। तीमध्ये रियलले २४ खेल जीतेको छ भने एथ्लेटिकोले १० खेल जीतेको छ। १२ खेल बराबरीमा सकिएको छ। हेड टु हेडमा रियल बलियो देखिएको छ। यद्यपी, स्पेनका दुई ठूला क्लब र ला लिगा उपाधि दाबेदार टोलीबीचको खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ।