उपराष्ट्रपति नन्दबहादुर पुनले महिला हिंसाका घटनाले एक्काइसौँ शताब्दीको सभ्य समाजलाई नै गिज्याइरहेको बताएका छन्। सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्सको महिला चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले महिला हिंसाको अन्त्य नभएसम्म नेपाली समाज सभ्य र सुरक्षित बन्न नसक्ने बताएका हुन्।
उपराष्ट्रपति पुनले समाजलाई सभ्य र सुरक्षित बनाउन महिला हिंसाको अन्त्य हुनैपर्ने बताए। महिला हिंसाका घटनाको न्यूनीकरण हुन नसकिएको हुँदा ज्यादै दुःख लागेको उनले बताए।
उपराष्ट्रपति पुनले बालबालिकाहरुको बलात्कारपछि हत्याका घटना बढिरहनुको कारण मानिसमा चेतनाको कमी हो या अपराधीको पहिचान र उचित कानुनी कारबाही हुन नसक्दा हो भन्ने बिषयमा सबैले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको बताए।
उपराष्ट्रपति पुनले राज्यका हरेक निकायमा महिला सहभागिता बढिरहेको उल्लेख गर्दै यसप्रति गर्व गरेर बाँकी उपलब्धिहरुका लागि सचेत ढंगले अघि बढ्नुपर्ने बताएका छन्।