काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले पहिलो जीत निकालेको छ। टियु क्रिकेट मैदानमा भएको खेलमा आर्मीले काठमाडौं मेयर–११ लाई ५ विकेटले हराएको हो।
काठमाडौंले दिएको १ सय ५६ रनको लक्ष्य आर्मीले २३ ओभर ५ बलमा ५ विकेट गुमाएर भेट्टायो। आर्मीको जीतमा सोमपाल कामीले विस्फोटक ब्याटिङ गर्दै ५१ बलमा ८० रन बनाए। त्यसक्रममा उनले ९ चौका र ६ छक्का प्रहार गरे। त्यस्तै, कुशल मल्लले २३ रन,भिम सार्कीले १६ रन, कप्तान विनोद भण्डारीले २० रन र राजेश पुलामीले ८ रन बनाए।
बलिङतर्फ काठमाडौंका सन्दीप लामिछाने र विपिन खत्रीले २–२ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४२ ओभर १ बलमा अलआउट हुँदै १ सय ५५ रन बनाएको थियो। काठमाडौंका लागि सौरभ खनालले सर्वाधिक ४२ रन, सन्दीप रजालीले ३७ रन जोड्दा खडक बोहराले १९ रन बनाए। त्यस्तै, हरिशंकर साह १८ रन, कप्तान सन्दीप लामिछाने १३ रन बटुले।
बलिङमा आर्मीका शाहब आलमले ४ विकेट लिए। जितेन्द्र मुखियाले ३ विकेट लिँदा सोमपाल कामी, बिक्रम सोब र कुशल मल्लले १–१ विकेट लिए। यस जितसँगै आर्मीले २ खेलमा २ अंक जोडेको छ। आर्मी उद्घाटन खेलमा एपीएफसँग हारेको थियो।
पहिलो खेलमा काठमाडौंले बागमती प्रदेशलाई ९४ रनले हराएको थियो। काठमाडौंले २ खेलमा २ अंक जोडेको छ।