पूर्वमन्त्री तथा नेकपा एमालेका नेता लालबाबु पण्डितले माधवकुमार नेपाल नै एमालेलाई एक बनाउन लाग्ने बताएका छन्। मंगलबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै उनले अब एमाले एक भएर अघि बढ्ने बताएका हुन्।
‘माधवकुमार नेपाल नै एमालेलाई एक बनाउन लाग्नुहुन्छ र, उहाँ लागिसक्नुभएको छ,’ कार्यक्रममा उनले भने। त्यस्तै, उनले माओवादी केन्द्रसँग अहिलेको सरकारलाई समर्थन गर्नुको विकल्प नरहेको दाबी गरेका छन्।
यदि माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिएमा ओलीले विश्वासको मत लिने विश्वास उनले व्यक्त गरे। ‘तत्काल सरकार परिवर्तन हुने अवस्था म देख्दिन,’ उनले भने, ‘प्रधानमन्त्री ओलीले आवश्यक परेमा विश्वासको मत लिनुहुनेछ।’
नेकपा एमालेका अध्यक्ष पनि रहेका ओलीले माधवकुमार नेपाललगायतका नेतालाई कारवाही गर्छन् कि गर्दैनन् भन्ने पत्रकारको प्रश्नमा नेता पण्डितले तत्कालका लागि कारवाही हुने कुरा कल्पना पनि गर्न नसकिने बताए।
एमाले फुट्ने स्थितिमा नरहेको स्पष्ट पार्दै उनले अब माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमलगायत सबै एक भएर अघि बढ्नुपर्ने जानकारी दिए।