निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भए १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ।
मंगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरेको हो।
यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नयाँ पार्टीलाई निर्वाचन आयोगले २०७५ जेठ २३ गते नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नाममा दर्ता गरेको थियो। तर सर्वोच्च अदालतले गत आइतबार नेकपाको नाम खारेज गरेको थियो।
निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण अघिको अवस्थामा रहेको जानकारी संघीय संसद सचिवालयलाई दिने पनि निर्णाय गरेकाे छ।
आयोगको पत्रसँगै अब संसद् सचिवालयले छुट्टाछुट्टै दलका रूपमा एमाले र माओवादी नेताहरूको सिट व्यवस्थापन गर्नुपर्नेछ। उनीहरूको बस्ने ठाउँ फरक हुनेछ।