बार्सिलोना र पेरिस सेन्ट जर्मन(पिएसजी)बीच च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेग बुधबार राति हुँदैछ। सो खेल राति १ः४५ बजे शुरु हुनेछ।
पहिलो लेगमा बार्सिलोना पिएसजीसँग आफ्नै घरेलु मैदानमा ४–१ गोलले स्तब्ध भएको थियो। बुधबारको उक्त खेलमा बार्सिलोना ‘गर या मर’ को स्थितिमा हुनेछ। च्याम्पियन्स लिगको इतिहासमा पहिलो लेगमा ३ वा सोभन्दा बढी गोलले पछि परेको टोली अघिल्लो चरण प्रवेश गरेको छैन।
भनिन्छ, फुटबलमा असम्भव भन्ने केही छैन। फुटबलमा केही सेकेण्डको अन्तरमा नै खेलको नतिजा उल्टिन सक्छ। पिएसजीको घरेलु मैदानमा हुने खेल बार्सिलोनाका लागि कठिन त छ नै तर, असम्भव छैन। ‘कमब्याक’ गर्दै अघिल्लो चरण प्रवेशका लागि बार्सिलोनाले अविश्सनीय प्रदर्शन गर्न जरुरी छ।
उता, युवा खेलाडीहरुको जमात रहेको पिएसजीसँग केलिएन एमबाप्पे, नेयमार जुनियरजस्ता खेलाडीहरु छन्। पहिलो लेगमा बार्सिलोनालाई ध्वस्त पार्न ह्याट्रिक गरेका एमबाप्पे र चोटमुक्त भइ मैदान फर्किएका नेयमारलाई रोक्न बार्सिलोनालाई हम्मेहम्मे नै पर्छ।
यसैबीच, बार्सिलोनाका नवनिर्वाचित अध्यक्ष जोन लापोर्टाले आफ्नो टोलीले कमब्याक गर्नेमा आफू विश्वस्त रहेको बताएका छन्। ‘म कमब्याकमा विश्वास गर्छु र बार्सिलोना त्यसका लागि सक्षम छ,’ उनले भने,‘योभन्दा ठूलो कुरा हामी त्यहाँ प्रतिस्पर्धा गर्न जाँदैछौं।