गैरआवासीय नेपाली संघ (एनआरएनए) मा दशौं महाधिवेशनमार्फत् नेतृत्व लिन दौडधुप शुरु भएको छ। संघले घोषणा गरेको १० अर्ब लगानी जुटाउने कार्यका लागि एनआरएनए अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्षहरू डा. उपेन्द्र महतो, जीवा लामिछाने तथा उपाध्यक्षहरू नेपालमै रहेका बेला सर्वसम्मत अध्यक्षका लागि प्रयास तीव्र भएको छ।
एनआरएनए श्रोतका अनुसार संघका पूर्वउपाध्यक्ष कुल आचार्य दशौं महाधिवेशनमा अध्यक्ष पदका लागि सबैभन्दा बलियो उम्मेदवारको रुपमा देखिएका छन्। संस्थापन पक्षले उपाध्यक्ष बद्री केसीलाई अध्यक्षको उम्मेदवार बनाए सजिलै हराउने गरी आचार्यको तयारी छ।
वर्तमान उपाध्यक्षहरू रविना थापा, सोनाम लामा, मन केसीलगायतले आचार्यको नेतृत्वलाई स्वीकार गरेर अघि बढ्ने बताइसकेको एनआरएनए श्रोतको भनाइ छ। उनीहरू सबै एकै ठाउँमा भएकाले यसपटक आचार्यको जीत निश्चित जस्तै रहेको छ।
संस्थापन पक्षबाट केसीको संरक्षणमा रहेका केही मिडियाले पूर्व उपाध्यक्ष आचार्यले चुनाव नलड्ने भनेर समाचार प्रकाशित गरिरहेका छन्। तर, त्यस्ता अनलाइनहरूले गरेका हल्लालाई एनआरएनए वृत्तमा धेरैले विश्वास गर्दैनन्। संस्थापन पक्षको नाममा गरिएका अर्नगल प्रचारलाई वर्तमान अध्यक्ष पन्तले समेत बेवास्ता गर्न थालेका छन्।
उपाध्यक्ष केसी र महासचिव डा. हेमराज शर्माले संयुक्त प्रयास गर्दा पनि गत जनवरीमा सम्पन्न विशेष महाधिवेशनमा आफूले चाहेजस्तो विधान संशोधन गराउन सकेनन्। अध्यक्ष पन्तले उनीहरूलाई साथ नदिई आचार्यसँग समझदारी बनाएपछि विशेष महाधिवेशन सम्पन्न भएको थियो।
विशेष महाधिवेशनकै कारण अध्यक्ष पन्त र आचार्यबीच सम्बन्ध नजिकिएको छ, जसको प्रभाव सबैतिर देखिन थालेको छ।
विवादमा उपाध्यक्ष केसी
महासचिव बनेदेखि नै केन्द्रीय कार्यालयमा पकड जमाएका उपाध्यक्ष केसी संस्थापन पक्षको कमजोर उम्मेदवारका रुपमा देखिएका छन्। स्वयं संस्थापन पक्षभित्रै केसीले निर्वाचन जित्न नसक्ने अवस्था रहेको निष्कर्ष निकाल्दै आचार्यलाई अध्यक्ष दिएर केसीलाई एक पटक उपाध्यक्षमै दोहोर्याउन लगाउनु पर्ने आवाज उठेको श्रोतको दावी छ।
वर्तमान संरक्षक शेष घले र पूर्व अध्यक्ष देवमान हिराचनसँग रहेको चिसो सम्बन्ध र मध्यपूर्वमा खर्च गरिएको राष्ट्रसंघीय संस्था आइएलओको आर्थिक सहयोगमा घोटाला भएको आरोप लागेपछि उपाध्यक्ष केसी र कोषाध्यक्ष महेश श्रेष्ठ विवादमा तानिएका छन्। जसका कारण संघले विश्वभर नै बदनामी भोग्नु परेको छ।
संघ नेतृत्वले विज्ञप्ति जारी गरि सत्य–तथ्य पत्ता लगाउने आश्वासन दिएको छ। यो मुद्दा १०औं महाधिवेशनमा उठ्ने निश्चित छ। त्यसबाहेक नेपालको राजनीतिक परिवर्तनले पनि उपाध्यक्ष केसीको पक्षमा माहोल नभएको निष्कर्ष संस्थापन पक्षले निकालेको बताइन्छ।
विगतमा लोकतान्त्रिक पक्षधरहरू दुई पक्षमा विभाजित भएकाले थोरै मतले आचार्यले पराजय बेहोर्नु परेको थियो। अहिले लोकतान्त्रिक पक्षका सबैले आचार्यलाई सहयोग गर्ने घोषणा गरिसकेका छन्। जसले आचार्यको सर्वसम्मत नेतृत्व चयनको सम्भावना बढिरहेको एनआरएनएका एक पदाधिकारीले बताए।
विशेष महाधिवेशनमा जुटेकाे सहमति
गत जनवरीमा संघको विशेष महाधिवेशनमा संस्थापन पक्षले जवरजस्ती विधान संशोधनको एजेन्डा घुसाएको भन्ने विवाद बढ्दै गएर परराष्ट्र मन्त्रालयसम्म पुग्यो। असन्तुष्ट पक्षले नेपालको अदालतसम्म जाने तयारी गरिरहेको थियो।
तर, अध्यक्ष पन्तसहितका सरोकारवालासँग घण्टौं छलफल गर्नुका साथै संरक्षक परिषद्को बैठक बोलाउन संयोजनकारी भूमिका खेलेर आचार्यले विवादलाई सहमतिमा पुर्याए।
पूर्व प्रवक्ता भूषण घिमिरे तथा उपाध्यक्ष मन केसीले प्रस्तुत गरेको विधान संशोधनका साझा बुँदा विशेष अधिवेशनबाट सर्वसम्मतिले पारित भयो। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले समेत संघमा देखिएको सहमतिको प्रशंसा गरे।
विशेष महाधिवेशनमा वर्तमान अध्यक्ष कुमार पन्त र सल्लाहकार कुल आचार्यबीच भएको सहमतिले संघमा उत्साहको वातावरण बन्यो। अध्यक्ष पन्त र पूर्व उपाध्यक्ष आचार्य व्यापारिक साझेदार पनि हुन्। उनीहरु दुवै एउटै प्लेनबाट एकै दिन युरोप ओर्लिएको जानकारहरू बताउँछन्।
पन्त आचार्यलाई दाई भन्छन् भने आचार्य पन्तलाई भाइ। गत साता मात्रै अध्यक्ष पन्त आचार्यको गाउँ पर्वतको धाइरिङ पुगेर आचार्यका पिताको नाम जोडिएको विद्यालयलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे। २–३ दिन सँगसँगै घुमेर फर्किए।
तर, पन्त र आचार्यबीच बढ्दो समझदारीबाट संघमा विचौलियाको भूमिका निर्वाह गरिरहेको सानो समूह आत्तिएको छ। उक्त समूहले कहिले उपाध्यक्ष बद्रि केसीलाई स्वाभाविक उम्मेदवारको रुपमा अगाडि सारिरहेको छ, कहिले उपाध्यक्ष सोनाम लामालाई।
मिलनसार, सबैलाई सम्मान गर्ने र सबैको कुरा सुन्ने आचार्यले सबै अटाउने एनआरएनए बनाउने आफ्नो अभियान भएको बताउँदै आएका छन्। उनीप्रति सबै पूर्व अध्यक्षहरूको सद्भाव रहेको बताइन्छ।
‘केही दिनअघि मात्रै अर्का पूर्व अध्यक्ष जीवा लामिछाने र बेलायतका साथीहरूसँगै पूर्वी नेपालको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरको दर्शन गरेर फर्केका कुल आचार्यको आत्मविश्वास निकै बढेको छ,’ उनीसँगै हाल नेपालमै रहेका एक एनआरएन आइसीसी सदस्यले भने।
सन् २००३ मा संघ स्थापना भएपछि संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो ३ पटक निर्विरोध निर्वाचित भए। महतोपछि देवमान हिराचन र जीवा लामिछाने पनि निर्विरोध अध्यक्ष बने। तर त्यसपछि शेष घलेले दुई पटक र भवन भट्ट तथा कुमार पन्तले एक–एक पटक चुनावबाट विजयी भएका हुन्। त्यससँगै एनआरएनभित्र गुटबन्दी र पैसाको चलखेल बढ्न थालेको बताइन्छ।
संघको निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउने प्रयास भइरहेका बेला एनआरएनएमा आचार्यजस्तो सहज र सबैलाई समेटेर लिएर जान सक्ने नेतृत्वको खाँचो देखिएको धेरैले महसुस गरेका छन्।