नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र नियुक्त भएका छन्। मन्त्रिपरिषद् बैठकले मंगलबार डेपुटी गभर्नर (वरिष्ठ) मा तिम्सिना र डेपुटी गभर्नरमा मिश्रलाई पाँच वर्षका लागि नियुक्त गरेको हो।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङका अनुसार डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको पाँचवर्षे कार्यकाल पूरा भएपछि फागुन १८ गतेदेखि रिक्त रहेको पदमा तिम्सिना र मिश्रलाई नियुक्त गरिएको हो।
को हुन् तिम्सिना?
नेपाल राष्ट्र बैंकको इतिहासमा पहिलोपटक महिला डेपुटी गभर्नर भएकी हुन् निलम ढुंगाना तिम्सिना। वि.सं. २०५४ सालमा सहायक निर्देशकमा राष्ट्र बैंकमा प्रवेश गरेकी तिम्सिनाले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेकी छिन्।
अष्ट्रेलियाबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेकी तिम्सिनाले भारतको राजस्थानबाट व्यवस्थापनमा विद्यावारिधि गरेकी छिन्।
राष्ट्र ऋण व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारीमा कार्यरत तिम्सिनाले अनुसन्धान, विदेशी विनिमय व्यवस्थापन लगायत महत्त्वपूर्ण विभागमा बसेर दक्षतापूर्वक काम गरेकी छिन्।
नवनियुक्त डेपुटी गभर्नर तिम्सिनाले राष्ट्र बैंकको काम, कर्तव्य र जिम्मेवारीलाई अझ प्रभावकारी बनाउन प्रतिवद्ध रहेको बताएकी छिन्।
को हुन् मिश्र?
नवनियुक्त डेपुटी गभर्नर बमबहादुर मिश्र वि.सं. २०५९ सालमा सहायक निर्देशक पदमा राष्ट्र बैंकमा प्रवेश गरेका हुन्। त्यसअघि उनी वाणिज्य बैंकमा कार्यरत थिए।
त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका मिश्र विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुखका रुपमा कार्यरत थिए। उनी नियमन विभाग प्रमुख थिए।
राष्ट्र बैंकका विशिष्ट श्रेणीका अधिकृत (कार्यकारी निर्देशक) मध्ये गभर्नरले रिक्त पदको दोब्बर संख्यामा नाम सिफारिस गर्नुपर्ने व्यवस्था ऐनमा छ। सोही अनुरुप नेपाल सरकार, मन्त्रिपरिषद्ले गभर्नरको सिफारिसमा डेपुटी गभर्नरको नियुक्ति गर्नेछ।
ऐनको दफा १६ उपदफा १ बमोजिम गभर्नरले डेपुटी गभर्नर पदमा नियुक्तिका लागि सिफारिस गर्दा बैंकका विशिष्ट श्रेणीको अधिकृतहरूमध्ये कार्यक्षमताका आधारमा रिक्त पदको दोब्बर संख्यामा नामावली सिफारिस गर्नुपर्ने ऐनमा व्यवस्था छ।