उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसदीय प्रक्रियाले राजनीतिक निकास नदिए पुनः ताजा जनादेशमा जानुपर्ने अवस्था आउने बताएका छन्।
पोखरेलले सर्वोच्च अदालतको पछिल्लो फैसलाले ०७५ साल जेठ २ गतेको अवस्थामा दलहरुलाई पुर्याएको बताउँदै संसदले निकास नदिए जनादेशमा जानुको विकल्प नभएको बताएका हुन्।
वीरगञ्जमा बिहीबार भएको पत्रकार भेटघाटमा नेता पोखरेलले संसद्मा विश्वासको मत ल्याउन नसकेपछि भने प्रधानमन्त्रीले राजीनामा दिनेसमेत बताए।
२०७५ साल जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी बनेको थियो। ऋषि कट्टेलले नाममा दाबी गर्दै अदालत गुहारेपछि उनकै पक्षमा सर्वोच्चको फैसला आइसकेको छ।
पोखरेलले संसद्मा विश्वासको मत ल्याउन नसके प्रधानमन्त्री केपी ओलीले राजीनामा दिने बताए। संसद पुनर्स्थापित भएपछि संसदीय प्रक्रियाबाटै अघि बढ्ने उनले बताए।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिनुपर्छ, पाउनुभयो भने ठिकै छ, होइन भने राजीनामा दिनुहुन्छ, राजीनामा दिएपछि संविधानको धारा ०७६ को उपधारा २ अनुसार नै दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बन्ने कोसिस हुन्छ, सरकार बनेन भने चुनावमा जानुको विकल्प छैन,’ पोखरेलले भने।