नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन उल्ट्याउन नेताहरुमाथि घेराबन्दी भइरहेको बताएका छन्। राष्ट्रिय दलित पत्रकार संघको पहिलो महाधिवेशन बोल्दै उनले आफूमाथि सबैभन्दा बढी घेराबन्दी आफूमाथि भएको बताएका छन्।
प्रतिक्रियावादीहरुले प्राप्त उपलब्धीहरुलाई धरापमा पार्ने प्रयास गरिरहेको बताउँदै अध्यक्ष प्रचण्डले गणतन्त्र, संघीयता, समानुपातिक, समावेशी मन नपराउनहरुले परिवर्तन उल्ट्याउन खोजेको आरोप लगाए।
उनले देशमा ठूलो परिवर्तन ल्याउन भूमिका खेल्ने नेताहरुमाथि प्रहार भइरहेको पनि बताए। १२ बुँदे समझदारी र शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला नरहे पनि आफू जीवित रहेकाले आफूलाई बढी घेराबन्दी महसुस भइरहेको उनले जानकारी दिए।
प्रतिक्रिवादी षडयन्त्र नरोकिएको र अनौठा–अनौठा परिघटना देख्नु परेको जानकारी दिँदै प्रचण्डले देशमा हुनै नसक्ने कुरा हुन थालेकाले केही अनिष्ट हुँदैछ कि भन्ने आशंका पैदा भएको आशय व्यक्त गरे।