ह्याम्स हस्पिटलको ‘लापरबाही’ले तेह्रथुमका एक व्यक्तिको मृत्यु भएको छ। ह्याम्स हस्पिटलको ‘लापरबाही’कै कारण उपचार गराउन गएका तेह्रथुम जिल्लाको फाक्चामाराका ४५ वर्षीय देवेन्द्रबहादुर निरौलाको मृत्यु भएको हो।
तेह्रथुमबाट काठमाडौं आएका निरौला कपनस्थित भाञ्जाको कोठामा बस्दै आएका थिए। स्वास्थ्य असहज भएपछि निरौला आफै हिँडेर अस्पताल पुगेको परिवारका एक सदस्यले बताए।
अस्पताल पुगेपछि डाक्टरले निरौलाको स्वास्थ्य परीक्षण गरेर रगत जाँच पनि भयो। डाक्टरले भिटामिन ‘डी’को कमी भएको बताएर उपचार शुरु गरे। फागुन २१ गते शुक्रबार इण्डोस्कोपी गरेर पेटको समस्या गरेका डाक्टरले निरौलालाई अल्सर भएको रिपोर्ट थमाए।
त्यसपछि फागुन २२ गते शनिबार अस्पतालमा भर्ना भएका निरौलाको आइतबार बिहान मृत्यु भएको हो।
शनिबार जनरल बेडमा भर्ना गरेर औषधि चलाएको अस्पताल श्रोतले बताएको छ। त्यसपछि निरौलाले शरीर पोलेको बताएपछि उनलाई निन्द्राको औषधि दिइएको थियो।
शनिबार मध्यरातमा पुनः निन्द्राको औषधि दिइएको निरौलाको मेडिकल रिपोर्टमा उल्लेख छ। त्यसपछि आइतबार बिहान करिव ६ बजे निरौला अझै गम्भीर अवस्थामा पुगे।
त्यति बेलासम्म बोलिरहेका निरौला बिहान साढे ६ बजेदेखि अवाक भए। त्यसपछि डाक्टर आउने प्रतिक्षामा रहेका निरौलाका आफन्तले बिहान करिव १० बजे अशुभ खबर सुने।
‘नर्सले बिरामी निदाएको भनिरहेका थिए, तर उहाँको प्राण गइसकेको रहेछ, आइतबार दिउसो मात्रै अस्पतालले मृत घोषित गरेर शव लान भन्यो,’ एक आफन्तले भने।
यसैबीच, अस्पताल र मृतकका आफन्तबीच छलफल भएको छ। घटना छानवीन गर्न मेडिकल काउन्सिललाई जिम्मा दिइएको छ। फागुन २६ गते बुधबार निरौलाको अन्त्येष्टि गरिएको पारिवारिक श्रोतले जानकारी दिएको छ।