पत्रकार सुशील शर्माको निधन भएको छ। काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा शर्माको निधन भएको हो। ६३ वर्षका शर्माको शुक्रबार अपरान्ह निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। पत्रकार शर्माले लामो समय बीबीसी नेपाली सेवामा काम गरेका थिए।
दी राइजिङ नेपाल दैनिकबाट पत्रकारिता शुरु गरेका शर्माले पछि अंग्रेजी साप्ताहिक स्पटलाइटको कार्यकारी सम्पादकको रुपमा जिम्मेवारी निर्वाह गरे।
सन् १९९६ मा उनी बीबीसी नेपाली सेवाको नेपाल प्रतिनिधिको रुपमा नियुक्त गरिए। शर्माले सोही वर्षदेखि नै नेपालमा शुरु भएको माओवादी सशस्त्र जनयुद्धको बीबीसी नेपाली सेवाका लागि लगातार रिपोर्टिङ गरेका थिए।
अनुशासित र सिद्धान्तनिष्ठ पत्रकार
‘सशस्त्र द्वन्द्वकालमा बीबीसी संवाददाताको रुपमा सुशीलको तटस्थता स्मरणीय छ,’ वरिष्ठ पत्रकार राजेन्द्र दाहालले भने, ‘प्राप्त सूचनाको गहिरो परीक्षण, तथ्यको जाँच र आफ्नो अध्ययनका आधारमा उनले गरेको रिपोर्टिङ तत्कालिन सत्ता पक्ष र विद्रोही पक्षले पनि भरपर्दो ठान्दथे। तथ्यप्रतिको निर्भरता नै उनको सुरक्षा कवच थियो। नेपाली पत्रकारिता जगतले एकजना अनुशासित, दृढ र सिद्धान्तनिष्ठ पत्रकार गुमाएको छ।’
पत्रकार दाहालले स्वर्गीय शर्मा व्यक्तिगत रुपमा अत्यन्त अनुशासित, सके अर्काको हित गर्ने, तर कसैको अहित नगर्ने, पटक्कै प्रदर्शन नगर्ने, आफ्नो परिवारलाई अत्यन्तै माया गर्ने व्यक्ति रहेको बताए।
झण्डै डेढ वर्ष पहिले ठूलो आन्द्राको शल्यक्रिया पछि उत्पन्न जटिलताका कारण उनको उपचार जारी थियो।
वरिष्ठ अधिवक्ता स्व. गणेशराज शर्मासँग निकट रहेका पत्रकार सुशील शर्माले स्वर्गीय वीपी कोइरालाको अंग्रेजी जेल डायरीको नेपाली अनुवाद (फेरि सुन्दरीजल) तथा सन् १९७६ मा निर्वासनबाट स्वदेश फर्किंदा बीपी कोइरालाले जारी गरेको नेपाली वक्तव्यको अंग्रेजीमा अनुवाद पनि गरेका थिए।
‘नेपाल किन बनेन’
बीबीसी छाडेपछि सन् २०१६ मा कान्तिपुर दैनिकको पहिलो पृष्ठमा प्रकाशित उनको लेख ‘नेपाल किन बनेन’ले लामो समयसम्म बहस जन्माएको थियो। नेपालमा जारी राजनीतिक अस्थिरताको जड मुलुकभित्र हैन, मुलुक बाहिर रहेको उनको विश्लेषण थियो।
बीबीसी मिडिया एक्सनले शुरु गरेको साझा सवालको पहिलो अंकमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई सभ्य र सशक्त ढंगले प्रश्न गरेका शर्माको चर्चा धेरै पछिसम्म चलेको थियो।
शर्माको शुक्रबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने परिवारको तयारी छ। शर्माका श्रीमती र १ छोरा रहेका छन्।