इटालियन क्लब युभेन्टसको युईएफ च्याम्पियन्स लिग जित्ने चाहना यस सिजन पनि समाप्त भइसकेको छ। पोर्टोसँग पराजित हुँदै युभेन्टस च्याम्पियन्स लिग २०२०–२१ को अन्तिम १६ बाटै बाहिरिसकेको छ।
च्याम्पियन्स लिग जित्ने मुख्य उद्देश्यका साथ युभेन्टसले ३ वर्ष पहिले विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई क्लबमा आबद्ध गरेको थियो। ३६ औं पटक सिरी ए च्याम्पियन बनिसकेको युभेन्टसले रोनाल्डो आए पनि च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्न सकेन। रोनाल्डोले पनि युभेन्टसबाट च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्य रहेको बताएका थिए।
तर, न उनको लक्ष्य पूरा हुन सक्यो न क्लबको चाहना नै। त्यसकारण रोनाल्डो युभेन्टसमा असफल भएको टिप्पणी शुरु भइसकेको छ। यसो त घरेलु लिगमा शानदार प्रदर्शन गरिरहेका रोनाल्डोले च्याम्पियन्स लिगमा भने खेलको जादु देखाउन सकेका छैनन्। रियल मड्रिडमा रहँदा लगातार ३ पटक च्याम्पियन्स लिग जितेका रोनाल्डोको युभेन्टसमा आलोचना भइरहेको छ।
उता, रोनाल्डो गएपछि स्पेनिस क्लब रियल मड्रिढ पनि कमजोर बनेको छ। यस्तोमा रोनाल्डो फेरि रियल मड्रिड फर्किन सक्ने चर्चा शुरु भएको छ।
त्यसो त युभेन्टसका प्रशिक्षक आन्द्रेय पिर्लोले वर्तमान अवस्था जे भएपनि रोनाल्डोले क्लबमै रहने बताएका छन्। रोनाल्डो र टिम नै च्याम्पियन्स लिगको लागि संघर्षरत रहेको जानकारी दिँदै उनले रोनाल्डो आफैं जान चाहेका भने क्लबले उनलाई जबरजस्ती राख्न नमिल्ने बताए।
त्यस्तै, रियल मड्रिडका डिफेण्डर सर्जियो रामोसले इटाली गएकै कारण रोनाल्डो र उनको पूर्वक्लब रियल मड्रिड दुबैको खराब अवस्था आएको बताएका छन्। रोनाल्डो रियलका उत्कृष्ट खेलाडी हुन्। ९ सिजन क्लबमा बिताएका उनी रियलका सर्वकालिन सर्वाधिक गोलकर्ता पनि हुन्।