प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच छलफल भएको छ। बिहीबार भएको दुई दलको छलफल अहिलेको सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कसरी एक हुन सकिन्छ भन्नेमा केन्द्रित भएको बताइएको छ।
जसपा सरकारमा सहभागी हुने वा नहुने दोधारमा छ। जसपाले कार्यदल नै गठन गरेर सरकारसँग वार्ता गरिरहेको भए पनि कुनै निश्कर्षमा पुग्न सकेको छैन। सरकारमा सहभागी हुने जुपाले केही सर्तहरु राखेको छ। त्यस विषयमा प्रधानमन्त्री ओली सकरात्मक देखिएका छन्।
यसबैबीच जसपाले कांग्रेससँग वार्ता गरेको हो। वार्तामा विपक्षी दलहरु एकजुट हुनुपर्नेमा दुबै दल सहमत भएको कांग्रेसका एक नेताले बताए। कांग्रेसले ओली सरकारको विकल्पमा सबै विपक्षी दलहरुको एउटै धारणा बनाउनुपर्ने बताइरहेको छ।
तर, जसपा र काँग्रेसबीच कुनै सहमति भने भएको छैन। एकै धारणा बनाएर अघि बढ्नेमा माओवादी केन्द्र पनि तयार रहेको ती नेताले बताएका छन्। कांग्रेस, माओवादी र जसपाबीच निरन्तर वार्ता हुने र निश्कर्षमा पुग्ने बताइएको छ।