सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता खारेज भएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूतिएका छन्। तर, नेकपाको एकता तोडिएपछि एमाले र माओवादी केन्द्र पुर्ववत अवस्थामा फर्किए। तत्काललाई नेकपामा बनेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको टिम भत्कियो। यद्यपि, अझै पनि दुई कम्युनिष्ट पार्टीको एकताको सम्भावना कायमै छ। प्रचण्ड–नेपालको एकताले प्रधानमन्त्री समेत रहेको केपी ओली अल्पमतमा परे। एमाले पूर्ववत् अवस्थामा फर्किएपछि ओली शक्तिशाली भएका छन्। र, नेपाल समूह अल्पमतमा परेका छन्। ओलीले अब नेपाल समूहका नेतालाई कारबाही गरेर बदला लिने चर्चा भइरहेका बेला अब एमालेको अबको रणनीति, पार्टीको आन्तरिक एकतालगायतका विषयमा नेता लालबाबु पण्डितसँग नेपाली पब्लिकका आयुश चौलागाईले गरेको कुराकानीः
अब केपी ओली नेतृत्वको भविष्य के हुन्छ?
–मैले शुरुदेखि नै भन्दै आएको छु, यही सरकार ५ वर्षसम्म रहन्छ। यो प्रतिनिधिसभाको कार्यकाल रहेसम्म प्रधानमन्त्री फेरिँदैन। आन्तरिक किचलो नयाँ परिस्थितिमा पुगेकाले नेकपा एमालेभित्र अब जे जति नेकपा भएर किचलो थियो। त्यो अब त्यो रुपमा रहँदैन। नेकपा एमाले एक ढिक्का भएर सरकारको रक्षा गर्ने, पार्टीको नीतिहरूलाई कार्यन्वयनमा एक भएर नेतृत्व अघि बढ्छ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसँग वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष मिलेर जाने सम्भावना छ?
–वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरू, वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल पनि नेकपा एमालेलाई बलियो बनाउने, सरकारलाई सघाउने बाहेकको कुनै पनि गतिविधिहरू अब गर्नुहुन्न भन्ने मेरो विश्वास छ। छिट्टै पार्टीका अध्यक्ष ओली र वरिष्ठ नेताहरु र नेताहरुबीच अब छलफल शुरु हुन्छ। र, संसद्भित्र पनि पहिलो बैठकमा केही देखियो, त्यो कुरा अब हुँदैन। म त अझै अघि बढेर भन्छु सरकारलाई बलियो बनाउने सन्दर्भमा र सरकारलाई स्थायित्व दिने सन्दर्भमा सरकारलाई समर्थन जुटाउने सन्दर्भमा पार्टीमा आफ्नो भूमिका निभाउने सन्दर्भमा विवादलाई भुलेर माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतले अग्रणी भूमिका खेल्नुहुन्छ। अब एक भएर अगाडि बढ्छौं।
संसद् बैठक र राजनीतिक परिस्थिति कसरी अघि बढ्छ?
–प्रतिपक्षी नेपाली कांग्रेस पनि नेपालको लोकतन्त्रमा र आफ्नो भूमिकामा सकरात्मक सोचका साथ अघि बढ्छ भन्ने मलाइ विश्वास छ। तर, फेरि प्रतिनिधिसभा विघटन होस्, छिट्टै चुनाव होस अनि किचलो त छँदै थियो, त्यसको च्याँखी थापेर यदि कुनै स्वेदेशी वा विदेशी शक्तिहरुले ठान्छन् भने त्यो सपना पूरा हुँदैन। त्यो सपना सिल्ली सपना हुनेछ। बुद्धि, विवेक लगाएर नेपाल र नेपालीको हितमा लोकतन्त्र र संविधानको रक्षामा, देशको समृद्धि र विकासमा, सुशासनको सन्दर्भमा आफ्नो सकरात्मक योगदान सबैबाट पुग्छ भन्ने आशा मैले राखेको छु। बिग्रेको कुरालाई बनाउने जिम्मेवारीपनि संसद्भित्र रहेकाहरुकै भएको स्थितिमा र मुलरुपमा नेपालको संविधानले दिएको बहुदलीय संघीय लोकतान्त्रिक गणतन्त्र छ यसलाई विचारको हिसाबले बहुलवाद भएपनि संविधानले अंगिकार गरेका बाटोहरुलाई फराकिलो बनाउँदै मुलुकलाई अगाडि बढाउने सन्दर्भमा अब कुनै किसिमको अलमल्लमा पर्नुपर्ने आवश्यकता छैन। र, सञ्चारकर्मीहरुले पनि कहिलेकाही कसले बहकाउँछन्, कहिलेकाँही कसले बहकाउँछन विवादित हुनुपर्ने स्थिति छैन। र, यथार्थ र सत्यपरक समाचार र सूचनाहरु जनतासमक्ष निर्भयपूर्ण रुपमा दिँदै आउनुभएको छ, अझै परिकृष्त भएर दिनुहुनेछ भन्ने विश्वास छ।
नेकपामा समस्याको जड वामदेव गौतम भनिराख्नुभएको छ तपाईले। यसको कारण के हो?
–हो। नेकपामा एउटा स्थिति विभिन्न नेताहरुमा देखा परेको हो। एउटै पदमा धेरै जनाको आकांक्षा देखियो। त्यो आकांक्षा पूरा गर्नका लागि कहिले कता, कहिले कता अनि कुबाटोमा जाने प्रयत्न र त्यो बाटोमा गएपछि आफ्नो मनोगत महत्त्वकांक्षा पूरा हुन्छ भन्ने ठानेर केही गतिविधिहरु भए। त्यसको शुरुवातकर्ता वामदेव कमरेडले गर्नुभएको थियो। अब त्यो ठाउँमा हुनुहुन्न अब त्यो गर्नुहुन्न।
नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको सरकारमा अब माओवादी निस्किएपछि बहुमत पुग्दैन। अर्को सरकार बन्ने वा बनाउने विकल्प के हो?
–सरकार छँदैछ। नेकपा एमालेको एक ढिक्का र नेकपा माओवादी केन्द्रसँग यो सरकारलाई समर्थन दिनु बाहेकको विकल्प छैन। उहाँहरुकै समर्थनमा यो सरकार अगाडि बढ्छ। आवश्यक परेमा अन्य राजनीतिक दलहरुको समर्थन पनि सरकारले पाउँछ।
तपाईले नेकपामा रहेका बेला एमाले र माओवादीबीचको द्वन्द्व देखावटीजस्तो मात्र थियो भन्नु भएको हो?
–केही समयदेखि नेकपाभित्रको द्वन्द्व फरक–फरक धारबाट कम्युनिष्ट आन्दोलनभित्र आएको एउटा स्थिति अर्को कुरा के हो भने त्यहीबीचमा कतिको महत्त्वकांक्षाले ठाउँ ओगटेको र अलि अस्वस्थ क्रियाकलापहरु भएको थियो। अब ती सबै क्रियाकलापहरु इतिहास भइसके। त्यसकारण त्यसको वर्तमानमा कुनै काम छैन। नयाँ शिराबाट अगाडि बढ्ने हो। नयाँ शिराबाट अगाडि बढ्दा नेकपा एमालेले सम्हालेरै सरकार र संसद्भित्र रहेका राजनीतिक पार्टीहरुलाई साथ लिएर अगाडि बढ्छ।
वरिष्ठ नेता माधवकुमार नेपालको राजनीतिक करिअर र अस्तित्वमाथि धक्का लागेको हो?
–यो निर्णयपश्चात कसैलाई पनि धक्का लागेको हो भन्ने कुरा ठान्नुभएन। किनभने यो सैद्धान्तिक विवाद पनि थिएन र यो मूलरुपमा केही कार्यशैलीको विवाद थियो। त्यहाँभित्र पनि पदीय महत्त्वकांक्षा थियो। पछिल्लो अवधिमा यसको छिनोफानो भएको छ। त्यसैले अहिले जितेरै अगाडि बढ्ने, सकरात्मक सोचका साथ अगाडि बढ्ने मिलेर अगाडि बढ्ने र बीचमा भएका अतिरिक्त क्रियाकलापहरु चाहे लिखित हुन् चाहे मौखिक ती सबै समाप्त भइसकेकाले नयाँ कुराबाट अघि बढ्नुपर्नेमा दुईमत छैन।
माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिने अवस्थामा ओलीले राजीनामा गर्ने सम्भावना छ?
–प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिनुहुन्छ। विश्वासको मत बहुमत पुग्ने गरी आउँछ र यो सरकार ढल्दैन भन्ने मेरो विश्वास हो।
अब पनि केपी शर्मा ओली नै प्रधानमन्त्री भइराख्नु हुन्छ?
–अहिलेको अवस्थामा प्रधानमन्त्री फेरिने अवस्था म देख्दिनँ। तत्काल सरकार फेरिने स्थिति छैन।
अल्पमतमा परेपछि राजीनामा दिनुपर्दैन?
विश्वासको मत लिन्छु भनेपछि राजीनामा दिनुपर्छ भन्ने कुरा आएन।
नेकपा खारेज भएको अदालतको निर्णयलाई कसरी लिनुभएको छरु एमाले र माओवादी मिलेर नेकपाबाट चुनाव भएर केही जनप्रतिनिधिहरु चुनिएका छन्। अब तिनीहरुको व्यवस्थापन कसरी हुन्छ?
–पुरानो एउटा कुरा म स्मरण गराउन चाहन्छु। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई कुन पार्टीबाट चुनाव लड्नुभएकोरु कुन चिन्हबाट लड्नुभएकोरु उहाँलाई चिन्ह जुन पार्टीले दियो अहिले त्यो पार्टीमा हुनुहुन्छ कि हुनुहुन्नरु त्यसकारण पार्टीको विश्वास लिएसम्म जनप्रनिधिबाट कारवाही हुने स्थिति हुँदैन। अहिले कोही जनप्रतिनिधिहरु आत्तिनुपर्ने स्थिति छैन। तर, निर्णय र निर्देशन (ह्वीप) पालना गर्नुपर्ने हुन्छ। होइन भने कारबाहीको भागिदार हुनुपर्ने कारणले गर्दा समझदारीको विकास नयाँ स्तरमा हुन्छ भन्ने मेरो विश्वास हो। प्रतिनिधिहरु खारेजी वा कारबाहीमा पर्ने सम्भावना म देख्दिनँ।
निर्वाचित जनप्रतिनिधिहरुले ह्वीप एमालेको मान्ने कि माओवादीको?
–जुन चुनाव चिन्हबाट उठ्नुभएको छ, र पार्टी चिन्ह फरक–फरक भए पनि समझदारी यदि भएको छ भने समझदारीअनुसारको निर्देशन जुन ह्वीप हुन्छ त्यसलाई पालना गर्नुपर्छ।?
१९ जना राष्ट्रियसभाका सांसदहरुको के हुन्छ?
–राष्ट्रियसभाका निर्वाचितहरुको भविष्य समाप्त हुँदैन। उहाँहरुले समझदारीमा आफू र आफ्नो पार्टी रोज्न सक्नुहुन्छ भन्ने मेरो विश्वास छ।
रामबहादुर थापाहरुले के गर्नेरु उहाँहरु त माओवादी केन्द्रको नेता केपी ओलीसँग बस्ने कि माओवादीतिर जाने?
–केही नेताहरु जो अहिले मन्त्री पनि हुनुहुन्छ। स्वतन्त्रता त उहाँलाई छ तर उहाँ प्रधानमन्त्री ओलीलाई साथ दिन्छु भनेर सार्वजनिक अभिव्यक्ति दिइरहनुभएको छ। मैले अन्य भनिराख्नु पर्दैन।
एमालेहरु सर्लक्कै एकातिर आउने अनि माओवादी केन्द्रका नेताचाँहि तपाईहरुसँगै रहनुपर्ने?
–मैले राजनीतिक सहमति भनेको छु। राजनीतिक सहमतिबाहेकको स्थितिमा दण्ड र कारबाहीको व्यवस्था हुने भएकाले सकेसम्म मलाइ विश्वास छ कुनै पनि जनप्रतिनिधि कारवाहीमा पर्नुहुन्छ भन्ने लाग्दैन।
कतिपय प्रदेश सरकारमा तपाईहरु अल्पमतमा पर्ने देखियो। कसको समर्थन गर्नुहुन्छ अबरु कांग्रेस, जसमा वा अन्य कुनै?
–प्रदेशहरुले आफ्नो अनुकुलताअनुसार सहयोग र समर्थन पाउने र विश्वासको मत दिने स्थिति हुन्छ। अविश्वासको प्रस्ताव आएका प्रदेशहरुमा नेकपा एमालेको बहुमत रहेको कारणले गर्दा ती अविश्वासको प्रस्तावहरुको औचित्य अब समाप्त भएर जान्छ। नयाँ ठाउँहरुमा यदि समस्या आयो भने नयाँ स्तरबाट छलफल गरेर निकास निकाल्ने काम हुन्छ।
अब केपी शर्मा ओलीले विश्वासको मत कांग्रेसले दिन्छ कि जसपाले?
–प्रधानमन्त्री ओलीलाई विश्वासको मत प्राप्त हुनछ। आवेग र उत्तेजनामा गरेका निर्णयहरु पुनर्मूल्याङ्कन गरेर यथार्थमा आएर निर्णय कार्यान्वयनमा जाने स्थिति हुन्छ। केही पहिला प्रधानमन्त्रीलाई पार्टीको साधारण सदस्य पनि नरहने गरी कारबाही गरिएको थियो। आवेग र उत्तेजनामा गरिएको ती निर्णयहरुको केही अर्थ रह्यो र१ पार्टीका विभिन्न तह र पदमा नियुक्ति गरिएका थियो ती सबै यथार्थपरक थिएन। सरकार ढल्दैन। पुरै ५ वर्ष चल्छ। सरकार ढालेर चुनावमा जाने कसैको सोच छ भने त्यो पुरा हुँदैन।
माधवकुमार नेपालले ४० प्रतिशत देखाएर पार्टी फुटाएर जाने सम्भावना छ कि छैन?
–म ढुक्कको साथ भन्छु, माधवकुमार नेपालले पार्टी फोड्नुहुन्न, बरु पार्टी जोड्नुहुन्छ। र, त्यसका लागि लागि सक्नुभएको छ भन्ने मेरो अनुभूति छ। नेकपा एमाले फुट्दैन। नेताहरु अन्त जाने म देख्दिनँ।
माधवकुमार नेपाललगायतलाई कारबाही हुने सम्भावना के छ?
–अहिले कसैलाई कारबाही हुने स्थिति छैन। वरिष्ठ नेता माधवकुमार नेपाललाई कारबाही गर्ने कुरा कल्पना नै गर्न सकिँदैन।