नेकपा एमालेको खनाल–नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ। वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्यहरुको शनिबार बसेको अनौपचारिक भेलाले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो।
उक्त छलफलमा बसेका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य हुने निश्कर्ष निकालेको छ। केन्द्रीय कमिटीका सदस्य र संघीय संसदका सदस्यहरु सहभागी शनिबारको भेला प्रधानमन्त्री ओलीले विधानविपरीत गरेका गतिविधिलाई कसरी सच्याउन सकिन्छ भन्ने विषयमै केन्द्रित भएको बताइएको छ।
शनिबारको भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख तथा पार्टी पदाधिकारी आदिको उपस्थिति थियो। कार्यकर्ता भेलाका लागि भनेर पार्टीको प्रदेश इञ्चार्ज र विभागमा जिम्मेवारीसमेत तोकिएको छ। बैठकले प्रदेश १ को इञ्चार्जको जिम्मेवारी भीम आचार्यलाई दिएको छ।
प्रदेश २ को इञ्चार्ज घनश्याम भुसाल, बागमती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेश इञ्चार्ज सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णाली प्रदेशको इञ्चार्ज युवराज ज्ञवाली बनेका छन्। सुदूरपश्चिम प्रदेशको जिम्मेवारी भीम रावललाई दिइएको छ। बैठकले रघुजी पन्तलाई युवा इञ्चार्ज, गोकर्ण विष्टलाई विद्यार्थी इञ्चार्ज र प्रचार प्रसार विभागको जिम्मेवारी योगेश भट्टराईलाई दिएको छ।