उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ कुनै पनि हालतमा नछोड्ने बताएका छन्। नेकपा एमालेका मनोनित केन्द्रीय सदस्य पनि रहेका रायमाझीले आफूहरु एमालेभन्दा पनि ओलीको एजेण्डा राम्रो भएकाले अब माओवादी केन्द्रमा नफर्किने आशय व्यक्त गरेका हुन्।
‘मन्त्री र सांसद पद जान्छ भन्ने हामीलाई चिन्ताको विषय होइन, ज्यान त छँदैछ नि। हामीलाई केही चिन्ता छैन,’ काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने।
प्रधानमन्त्री ओलीसँग सही विचार, सिद्धान्त रहेको र निष्ठाको राजनीति गर्ने उद्देश्यले आफूहरु ओलीतिर लागेको मन्त्री रायमाझीले जानकारी दिए। अब आफूहरु कुनैपनि हालतमा नेकपा माओवादी केन्द्रमा नफर्किने उनको दाबी छ।