भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्यामा फेरि बृद्धि हुन थालेको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा २५ हजार ३ सय २० जना संक्रमित भएका हुन्।
यसअघि एक दिनमा संक्रमितहरुको संख्या आधाकम भइरहेका बेला अहिले फेरि बढ्दै जान थालेको हो। मन्त्रालयले पछिल्लो २४ घण्टामा १६ हजार ६ सय ३७ जना कोरोना भाइरस मुक्त भएको तथ्यांक पनि सार्वजनिक गरेको छ।
भारतमा अहिलेसम्म कुल संक्रमितहरुको संख्या एक करोड १३ लाख ५९ हजार ४८ पुगेको अधिकारीहरुले जनाएका छन्। कुल संक्रमित मध्ये दुई लाख १० हजार ५ सय २२ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कुल एक करोड नौ लाख ८९ हजार ८ सय ९७ जना संक्रमणमुक्त भएका छन्।
भारतमा कोरोना भाइरसबाट संक्रमित भएका मध्ये अहिलेसम्म एक लाख ५८ हजार ६०७ जनाको मृत्यु भएको छ। ती मध्ये १ सय ६१ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो। स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म दुई करोड ९७ लाख ३८ हजार ४ सय ९ खोपको उपभोग भएको छ।
त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ। परिषद्का अनुसार शनिबारसम्म भारतमा २२ करोड ६७ लाख तीन हजार ६ सय ४१ जनाको कोरोना परीक्षण गरिएको छ। शुक्रबार भने आठ लाख ६४ हजार ३ सय ६८ जनाको कोरोना परीक्षण गरिएको छ।