ताप्लेजुङको तीन स्थानीय तहले ग्याल्पो ल्हाेसारका अवसरमा आज सार्वजानिक बिदा दिएका छन्। मेरिङ्देन गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका र मैवाखोला गाउँपालिकाले ग्याल्पो ल्हाेसारमा सार्वजानिक बिदा दिएका हुन्।
शेर्पा समुदाय बसोबास भएको स्थानीय तहले ग्याल्पो ल्हाेसारको दिन सार्वजानिक बिदा दिएको मेरिङदेन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर तुम्बाहाङ्फेले बताएका हुन्। ताप्लेजुङको मेरिङदेन, आठराई त्रिवेणी र मैवाखोला गाउँ पालिकामा शेर्पाहरूको बाहुल्य छ।
बौद्ध धर्मावलम्बीको पर्व ग्याल्पो ल्हाेसार मान्यताअनुरूप हिमवत्खण्डबाट शुरु भएको ‘च्या लो’ (चरा वर्ष) लाई बिदा गरी ‘खि लो’ (कुकुर वर्ष) मनाइँदै आएको छ। बौद्ध धर्मको महायानी सम्प्रदायमा साम्बोटा लिपिले समेटेको हिमाली भोटचन्द्र पात्रो (दतु)मा कोङ्पो, तोला, सोनाम र ग्याल्पो गरी चार वटा लोसार उल्लेख छ।
शेर्पा, तामाङ, भोटे, गुरुङ, थकाली, ह्योल्मोलगायत बौद्ध धर्मावलम्बीले पात्रोअनुसार चारै वटै लोसार मनाउने गरेको फक्ताङ्लुङ गाउँपालिका–७ घुन्सा निवासी पेमा शेर्पाले बताए। लोसारमा छेमार र छेयाङ्फुद सजाउने गर्छन्। नौ प्रकारका खानेकुरा मिसाएर पकाइएका खाना (गुथुक), खप्स र फलफूल खाएर आफ्ना आफन्तलाई शुभकामना दिने गरेको शेर्पाले बताए।
प्रत्येक वर्ष १२ लो (बाँदर, चरा, कुकुर, सुङ्गुर, मुसा, गाई, बाघ, बिरालो, ड्रयागन, सर्प, घोडा र भेँडा) वर्ष परिवर्तन भएर नयाँ वर्षको शुरुआत हुन्छ। तिथि परिवर्तन भई १२ महिना सकिएर नयाँ वर्ष लागेसँगै ग्याल्पो लोसार मनाइने गरिन्छ। हिमाली क्षेत्रका बासिन्दाले लोसार (नयाँ वर्ष) लागेको शुभ संकेतस्वरूप जौ र गहुँका बाला राख्ने गर्छन्। पात्रो अनुसार १२औंँ महिनाको पहिलो दिन सोनाम लोसार मनाउने गरेको फक्तालुङ गाउँपालिका–७ निवासी छेतेन लामाले बताए।