ब्राजिलमा कोरोना भाइरसबाट एकै दिनमा थप ७६ हजारभन्दा बढी संक्रमित भएका छन्। सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ७६ हजार १ सय ७८ जना संक्रमित भएका हुन्।
त्यसैगरी सोही अवधिमा कम्तीमा एक हजार ९ सय ९७ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। ब्राजिलमा अहिलेसम्म कुल एक करोड १४ लाख ३९ हजार ५ सय ५८ जना संक्रमित भएका छन् भने दुई लाख ७७ हजार १ सय २ जनाको मृत्यु भइसकेको छ।
कोरोना भाइरसको महामारीबाट साओ पाउलो सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ४ सय ३४ जनाको मृत्यु भएको छ। सेवा क्षमता कम भएको र कतिपय अवस्थामा अभाव समेत भएको अधिकारीहरुले जानकारी दिएका छन्।
यसैबीच, ब्राजिलका पूर्व राष्ट्रपति लुइस इनासियो लुला डि सिल्भाले कोरोना भाइरस विरुद्धको खोप लगाएका थिए। उनले शनिबार पहिलो खोप लगाएका हुन्।
‘कोरोना भाइरसबाट जोगिनका लागि सबै मानिसले खोप लगाउनु पर्छ,’ खोप लगाएपछि पत्रकारहरुसँग उनले भने। उनले सबै नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन पाउने सुनिश्चित गर्न पनि सरकारसँग माग गरे। पूर्व राष्ट्रपति लुलाले आगामी १४ देखि २८ दिन भित्र आफूले दोस्रो खोप पनि लगाउने जानकारी दिए।