सिरी ए क्लब युभेनटस च्याम्पियन्स लिगबाट बाहिरिएपछि फुटबलर क्रिस्टियानो रोनाल्डोको भविष्यबारे चर्चा चुलिएको छ। पोर्गुगिज स्ट्राइकर रोनाल्डो समरमा युभेन्टस छाडी युरोपका जुनसुकै टप क्लबमा आबद्ध हुने मनस्थितिमा रहेको समाचारहरु बाहिरिएका छन्।
समाचार संवाददाता ट्यान्क्रेडी पाल्मेरीका अनुसार रोनाल्डोलाई युभेन्टस आफ्नो लेवलको क्लब लाग्दैन। त्यसकारण पनि उनले क्लब छाड्ने सम्भावना प्रबल हुने देखिन्छ। विभिन्न अफवाहकाबीच रोनाल्डोले आफूहरु सिरी ए र कोपा इटालियाको फाइनल लडाइँमा केन्द्रीत रहेको जानकारी दिँदै यस सिजन अन्य प्रतियोगिता पनि जित्न सकिने अवस्था रहेको बताएका छन्। युभेन्टससँग उनको सम्झौता २०२२ सम्म छ।
३ वर्षअघि युभेन्टसले च्याम्पियन्स लिग जित्ने लक्ष्यका साथ रोनाल्डोलाई भित्र्याएको थियो। तर, रोनाल्डोले च्याम्पियन्स लिगमा युभेन्टसले अपेक्षा गरेअनुसारको प्रदर्शन गर्न नसकेको भन्दै उनको चर्को आलोचना भइरहेको छ। क्लब च्याम्पियन्स लिगमा सफल नहुनुकाे कारण राेनाल्डाे नै भएकाे निश्कर्ष धेरैकाे छ। सिरी ए मा उत्कृष्ट प्रदर्शन गरे पनि उनलाई युभेन्टसमा असफल भएको आरोप लागेका कारण उनी र क्लबबीच तिक्त्तता बढिरहेको छ।