इटालियन सिरी ए फुटबलमा युभेन्टसले क्याग्लीयारीलाई पराजित गरेको छ। आइतबार राति भएको खेलमा फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा युभेन्टसले क्याग्लीयारीलाई ३–१ गोलले हराएको हो।
एकतर्फी बनेको खेलको १० औं मिनेटमा नै युभेन्टसले अग्रता बनाएको थियो। कर्नरबाट आएको क्रसलाई रोनाल्डोले हेडमार्फत पोष्टको दिशा दिएका थिए।
त्यसपछि क्याग्लीयारीका गोलरक्षले रोनाल्डोलाई फल गरेपछि युभेन्टसले खेलको २५ औं मिनेटमा पेनाल्टी पायो। रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए। त्यसको ७ मिनेटपछि पुनः उत्कृष्ट गोल गर्दै रोनाल्डोले ह्याट्रिक पूरा गर्दा युभेन्टसले पहिलो हाफमा ३–० गोलको अग्रता बनाएको थियो।
खेलको दोस्रो हाफको ६१ औं मिनेटमा क्याग्लीयारीले एक गोल फर्काएको थियो। एसका लागि गिओभनी साइमनले गोल गरेका थिए। त्यसपछि खेलमा अन्य गोल भएनर र युभेन्टसले महत्त्वपूर्ण जीत निकाल्यो।
जितसँगै युभेन्टस २६ खेलबाट ५५ अंकको साथ तालिकाको तेस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको इन्टर मिलानको २७ खेलबाट ६५ अंक छ भने दोस्रो स्थानको एसी मिलानको समान खेलबाट ५६ अंक रहेको छ।
पोर्टोसँग पराजित हुँदै युभेन्टस च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएपछि रोनाल्डोको चर्को आलोचना भएको थियो। युभेन्टसले च्याम्पियन्स लिग जित्ने लक्ष्यका साथ उनलाई क्लबमा भित्र्याए पनि च्याम्पियन्स लिग उनको प्रदर्शन अपेक्षाकृत नभएको टिप्पणाी भइरहेका थिए। तर, रोनाल्डोले सिरी ए को पछिल्लो खेलमा ‘पर्फेक्ट’ ह्याट्रिक गर्दै आलोचकहरुको मुख बन्द गराएका छन्। याे राेनाल्डाेकाे ५७ औं करियर ह्याट्रिक हाे।
खेलको शुरुवातमा नै हेडर गोल गरेका उनले पेनाल्टीमा दायाँ खुट्टाले गोल गरेका थिए। त्यस्तै, अर्को गोल उनले बायाँ खुट्टाले गरेका थिए। धेरै फुटबलप्रेमीहरुले उनको उक्त ह्याट्रिकलाई ‘पर्फेक्ट’ को संज्ञा दिँदै प्रशंसा गरिरहेका छन्। रोनाल्डो हाल २३ गोलका साथ सिरी ए को सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा छन्।