प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको चियापानमा झलनाथ खनाल र माधव नेपालपक्षीय नेताहरु नजाने भएका छन्। त्यस्तै वामदेव गौतम समूहले पनि ओलीको चियापानमा नजाने भएको छ।
ओली पक्षीय पार्टीका केन्द्रीय सदस्य तथा सांसद बालुवाटार जाने क्रम शुरु भइसकेको छ। सर्वोच्च अदालतले पार्टी ब्यूँताएपछि आगामी ७ गते बस्ने केन्द्रीय कमिटीको बैठकअघि अध्यक्ष ओलीले सदस्यलाई चियापानका लागि बोलाएका हुन्।
एकता अभियान चलाइरहेका गौतमले बल्खुस्थित एक पार्टी प्यालेसमा आजै यही समयमा बैठक बोलाएका छन्। खनाल–नेपाल समूहले चियापान वहिष्कार गर्दे राष्ट्रिय कार्यकर्ता भेलाको जानकारी दिन आज पत्रकार सम्मेलनको आयोजना गरेका छन्।
चैत ४ र ५ गते काठमाडौंमा गरिने कार्यकर्ता भेलाबारे आज पत्रकार सम्मेलन गरेर थप जानकारी दिइने केन्द्रीय प्रचार विभागले जानकारी दिएको छ।
एमाले नेता योगेश भट्टराईका अनुसार आज दिउँसो २ बजे होटल हेरिटेज गार्डेन सानेपा चोक ललितपुरमा पत्रकार सम्मेलनबाट राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिने कार्यक्रम छ।
कार्यकर्ता भेला रोक्न प्रधानमन्त्री ओलीले सोमबार आग्रह गरेका थिए। तर नेता नेपाल पक्षले कार्यकर्ता भेला नरोक्ने आफ्नो अडान राखेका छन्।