स्पेनिस क्लब बार्सिलोनाले ला लिगा अन्तर्गत गय राति भएको खेलमा हुएस्कालाई पराजित गरेको छ। उत्कृष्ट खेल प्रदर्शन गरेको बार्सिलोनाले हुएस्कालाई ४–१ गोलले हराएको हो।
बार्सिलोनाको जितमा कप्तान लियोनल मेसीले दुई गोल गर्दा, एन्टोनी ग्रिजम्यान र ओस्कार मिन्गुजाले एक–एक गोल गरे। हुएस्काको लागि राफा मिरले पेनाल्टीमा सान्तवना गोल गरेका थिए।
ला लिगामा यो बार्सिलोनाको महत्त्वपूर्ण जीत हो। यस जीतसँगै बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। त्यतिमात्रै होइनले बार्सिलोनाले शीर्षस्थानको एथ्लेटिको मड्रिडसँगको अंक दुरी ४ अंकमा झारेको छ भने तेस्रो स्थानको रियल मड्रिडलाई २ अंकले पछि पारेको छ। समान २७ खेलबाट एथ्लेटिको मड्रिडले ६३, बार्सिलोनाले ५९ र रियल मड्रिडले ५७ अंक जोडेको छ।
ला लिगाको शुरुवातदेखि नै एथ्लेटिको मड्रिडले अंक तालिकामा ठूलो अन्तरको अग्रता बनाइरहेको थियो। तर, पछिल्ला १२ खेलहरुमा उसले निकालेको नतिजाले शीर्ष ३ मा रहेका तीनवटै टोलीहरुबीच उपाधिका लागि प्रतिस्पर्धा हुने देखिएको छ। खराब शुरुवात गरेको बार्सिलोना डिसेम्बरमा उपाधि दौडबाट नै बाहिरिएको चर्चा चलेको थियो।
तर, लिग लिडर एथ्लेटिको मड्रिडले पछिल्ला खेलहरुमा लय गुमाएपछि त्यसको प्रत्यक्ष फाइदा बार्सिलोनालाई पुगेको हो। च्याम्पियन्स लिगबाट बाहिरिसकेको बार्सिलोना कुनै पनि हालतमा लिगको उपाधि जित्ने दाउमा छ।
यसैबीच, बार्सिलोनाका खेलाडी तथा क्लबका पदाधिकारीहरुले आफूहरु उपाधि दौडमा फर्किएको प्रतिक्रिया दिएका छन्। उनीहरुले बार्सिलोनाले उपाधि जित्ने विश्वास रहेको बताएका हुन्।