प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल र झलनाथ खनाल समूहको कार्यकर्ता भेलामा सहभागी हुनेलाई कारबाही गर्ने चेतावनी दिएका छन्। नेता कार्यकर्तालाई गुटको भभेलामा सहभागी नहुन आग्रह गर्दै उनले त्यस्तो चेतावनी दिएका हुन्।
मंगलबार नेकपा एमालेले चियापान समारोह आयोजना गरेको थियो। चियापान कार्यक्रम खना–नेपाल समूहले बहिस्कार गरेको छ। सोही समारोहमा बोल्दै उनले अनुशासनहीन काम गरेको खण्डमा विधानअनुसार कारबाही गरिने बताएका हुन्। एमालेले माघ ७ गते केन्द्रीय कमिटिको बैठक बोलाएको छ। तर, त्यसअघि नै खनाल–नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएका छन्।
‘सुन्दैछु भोलि भेला आयोजना गरेको छ रे। नेकपा एमालेसँग आवद्ध, सम्बन्ध कोही नेता वा कार्यकर्तालाई गुटगत भेला नगर्न, नगराउन र त्यस्ता भेलामा सरिक नहुन नजान सचेत गराउन चाहन्छु’, कार्यक्रममा उनले भने। ‘पार्टी एकताको पक्षमा बस्न आग्रह गर्न चाहन्छु। त्यस्ता गुटगत भेलामा सरिक नहुन तमाम् कार्यकर्तालाई अनुरोध गर्छु,’ ओलीले थपे।