सोमबार काठमाडौंको बल्खु पुल नजिकै सुकुम्बासी बस्तीमा महिलाको शव फेला परेको थियो। सोमबार साँझ सुकुम्बासी बस्तीमा बोरामा पोको पारेको अवस्थामा फेला परेको शव ३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाको हो।
उनकै श्रीमान् सन्तोष सापकोटाले सन्तोषीलाई मार्तल (ह्याम्मर) प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ। सन्ताेषले आफ्नै सुत्ने काेठामा हत्या गरी बोरामा पोको पारेर शव घरकै पेटीमा छोडेकाे अनुसन्धानमा देखिएको प्रहरीको भनाई छ।
घटनापछि सन्ताेष भागेका कारण प्रहरीले हत्यामा उनकाे संलग्नता रहेको आशंकासहित अनुसन्धान अगाडि बढाएको थियो। सन्तोषी र उनका पतिबीच पटक–पटक झगडा भइरहने उनको परिवारले बताए। परिवारकाअनुसार सन्तोषीले पतिसँग डिभोर्स मागेकी थिइन् र उनी जोरपाटीस्थित माइतीमा बस्दै आएकी थिइन्।
पोस्टमार्टमका लागि सन्तोषीको शव अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।