राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अपरान्ह ४ बजेका लागिबोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल नजाने भएका छन्।
बुधबार र बिहीबारको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी गर्नुपर्ने भएकाले खनाल र नेपाल राष्ट्रपति कार्यालयमा बोलाइएको सर्वदलीय बैठकमा सहभागी हुन नभ्याउने बताइएको छ।
त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठकमा सहभागी हुने/नहुनेबारे टुंगो नभएको उनको सचिवालयले जानकारी दिएको छ।
समसामयिक राजनीतिक विषयवस्तु तथा देशको पछिल्लो राजनीतिबारे छलफल गर्न राष्ट्रपति भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरू र पूर्वप्रधानमन्त्रीलाई बोलाएकी हुन्।