युईएफए च्याम्पियन्स लिग युरोपका फुटबल क्लबहरुबीच हुने सबैभन्दा प्रतिस्पर्धात्मक प्रतियोगिता हो। युरोपका जुनसुकै क्लबको सपना च्याम्पियन्स लिगको उपाधि जित्ने हुन्छ। तर, उपाधि यात्रा सहज छैन। युरोपका टप ५ लिगहरु खेल्ने क्लबसँग प्रतिस्पर्धा गर्दै उपाधि जित्नु सानो उपलब्धी पक्कै होइन।
युरोपका अधिकांश क्लबहरुको सपना स्पेनिस क्लब रियल मड्रिडको लागि नौलो कुरा होइन। रियल मड्रिडलाई युरोपको सबैभन्दा बढी सफल क्लब मानिन्छ। यसको एउटै कारण हो, रियल मड्रिड १३ औं पटक च्याम्पियन्स लिगको च्याम्पियन बनिसकेको छ।
१५ औं पटक च्याम्पियन्स लिगको फाइनल पुगेको रियलले १३ पटक उपाधि जित्दा ३ पटक उपविजेतामा चित्त बुझाएको थियो। रियलले सिजन २०१५–१६, २०१६–१७ र २०१७–१८ मा लगातार च्याम्पियन्स लिगको उपाधि जितेको थियो। सिजन २०१८–१९ मा र सिजन २०१९–२० मा रियल अन्तिम १६ बाटै बाहिरिएको थियो।
जारी सिजनको प्रि–क्वाटरफाइनलमा इटालियन क्लब एटलान्टालाई समग्रमा ४–१ गोलले पराजित गर्दै रियल क्वाटरफाइनल प्रवेश गरेको छ। च्याम्पियन्स लिगको सर्वाधिक सफल क्लब यस सिजन उपाधि जित्ने व्यग्रतामा रहेको छ। क्लबका सवाृधिक सफल खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लब छोडेपछि रियलको प्रदर्शन केही कमजोर भएको चर्चा चलिरहन्छ। यद्यपी, अन्य खेलाडीहरु क्लबलाई हरेक उपाधि जिताउन संघर्ष गरिरहेका छन्।
घरेलु लिगमा रियल हाल तालिकाको तेस्रो स्थानमा छ। रियलको २७ खेलबाट ५७ अंक रहँदा दोस्रो स्थानको बार्सिलोनाको समान खेलबाट ५९ अंक छ। त्यस्तै, शीर्षस्थानको एथ्लेटिको मड्रिडले समान खेलबाट ६३ अंक जोडेको छ। ला लिगाको उपाधि धरमरमा रहेका बेला रियल युरोपको च्याम्पियन बन्ने लक्ष्यमा छ। च्याम्पियन बन्ने रियलको लक्ष्य पूरा गर्न आफूहरु लागि पर्ने क्लबका प्रशिक्षक तथा खेलाडीहरु बताउँछन्।