इंग्लिस क्लब चेल्सीसँग समग्रमा ३–० ले पराजित हुँदै स्पेनिस क्लब एथ्लेटिको मड्रिड च्याम्पियन्स लिगबाट बाहिरिएको छ। बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा एथ्लेटिको चेल्सीसँग २–० गोलले पराजित भएको एथ्लेटिकाे पहिलाे लेगमा १–० गाेलले हारेकाे थियाे।
यसअघि नै कोपा डेल रे बाट बाहिरिएको एथ्लेटिकोले अब आफ्नो ध्यान घरेलु लिग ला लिगाको उपाधिमा केन्द्रीत गर्नेछ। हालसम्म एथ्लेटिको मड्रिड ला लिगाको शीर्षस्थानमा छ। २७ खेलबाट ६३ अंक बटुलेको एथ्लेटिको दोस्रो स्थानको बार्सिलोनाभन्दा ४ अंकले अघि छ।
सिजनको शुरुवातमा उत्कृष्ट प्रदर्शन गरेको एथ्लेटिकोले पछिल्ला खेलहरुमा लय गुमाउँदा अपेक्षाकृत नतिजा निकाल्न सकेको छैन। घरेलु लिगमै पनि उसले डिसेम्बर महिनासम्म स्पष्ट १० अंकको अग्रता बनाएको थियो। त्यो अग्रता अहिले ४ अंकमा खुम्चिएको छ।
लिगमा एथ्लेटिकोले ११ खेल खेल्न बाँकी छ। तीमध्ये उसका लागि ४ खेलहरु केही कठिन हुने देखिन्छ। तालिकाको शीर्ष ८ भित्र रहेका टोलीहरु सेभिया, रियल बेटिस, बार्सिलोना र रियल सोसिडाडसँग खेल्नु चुनौतीपूर्ण छ। यी खेलहरुले उसको उपाधि यात्रामा असर गर्नेछन्।
आइतबार एथ्लेटिकोले ला लिगामा अलाभेससँग खेल्नेछ। त्यस्तै, अप्रिल ४ मा सेभियाको सामना गर्नेछ। लिगका बाँकि खेलहरुमा सकरात्मक नजिता निकाल्नुपर्ने मुख्य प्रशिक्षक डाएगो साइमोन बताउँछन्। अग्रता खुम्चिएका कारण थप दबाब सिर्जना भएको जानकारी दिँदै उनले अब सबै ध्यान ला लिगाका खेलहरुमा केन्द्रीत गर्ने बताएका हुन्।