भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा फेरि बृद्धि हुन थालेको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करिब ३६ हजार जना संक्रमित भएका छन्।
गत बुधबार एक दिनमा २८ हजार ९०२ जना संक्रमितको संख्या बुधबार ३५ हजार ८ सय ७१ पुगेको छ। गत २४ घण्टाको कोरोना संक्रमितको यो संख्या यस वर्ष शुरु भएयताको नै सब भन्दा बढी हो। भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या एक करोड १४ लाख ७४ हजार ६०५ पुगेको सो मन्त्रालयले जनाइएको छ।
कुल संक्रमितमध्ये दुई लाख ५२ हजार ३ सय ६४ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कुल एक करोड १० लाख ६३ हजार २५ जना संक्र्रमणमुक्त भएका छन्। गत २४ घण्टामा कोरोना संक्रमणबाट १७२ जनाको मृत्यु भएपछि यहाँ कुल मृतकको संख्या एक लाख ५९ हजार २ सय १६ पुगेको बिहीबार जनाइएको छ।
भारतमा जनवरीबाट कोरोना विरुद्धको खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म तीन करोड ७० लाख भन्दा बढीले खोप लगाइसकेका छन्। त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ। परिषद्का अनुसार मंगलबारसम्म भारतमा २३ भन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ। बुधबार एकै दिनमा १० लाख ६३ हजार भन्दा जनाको कोरोना परीक्षण गरिएको छ।