पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुल गर्ने दुई महिला पक्राउ परेका छन्। प्रहरीले जबरजस्ती करणीको झुटो उजुरी दिने र पैसा असुल्ने धन्दामा संलग्न सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० घर भएकी ३७ वर्षकी लालसरी शाही र सोही ठाउँकी ३७ वर्षकी कल्पना शाहीलाई पक्राउ गरेको हो।
उनीहरुले होटलमा सँगै बसेको फोटो देखाएर ब्ल्याकमेलिङ गरी पटक पटक रकम लिएर ठगी गरेको प्रहरीले जानकारी दिएको छ। लालसरीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका कर्मचारी खेमराज शर्मालाई फसाउने नियतले होटलमा भेट्न बोलाई उनीविरुद्ध गत असोज ६ गते प्रहरीमा जबर्जस्ती करणी मुद्दामा जाहेरी दिएकी थिइन्।
उनीहरुले विभिन्न बाहानामा पुरुषलाई होटलमा बोलाएर हात समाउनेलगायतका काम गरी साथीलाई फोटो खिच्न लगाउने र र पछि त्यही फोटो, भिडियो देखाएर पैसा माग्ने गरेको प्रहरीको आरोप छ।
लालसरी र उनकी साथीले ब्ल्याकमेलिङ गर्ने हेतुले भिडियो बनाउने, रकम माग गर्ने, रकम पाउन छाडेपछि फेरि भिडियो सार्वजनिक गरिदिने धम्की दिने र बलात्कार आरोपसमेत लगाएर रकम असुल गरेको पाइएको अनुसन्धानमा देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी अपराध महाशाखाले जानकारी दिएको छ।