पोर्टोसँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएपछि युभेन्टस र क्रिस्टियानो रोनाल्डोको एकपछि अर्को आलोचना भइरहेको छ। खेल सकिएको एक हप्ता बितिसक्दा पनि आलोचनाको क्रम रोकिएको छैन।
यसैबीच युभेन्टस र टोरिनोका पूर्व डिफेन्डर पेस्क्वाली ब्रुनोले युभेन्टसको व्यवस्थापक र रोनाल्डोको चर्को आलोचना गरेका छन्। ‘टिम व्यवस्थापकले सबै कुरा बर्बाद गरिरहेको छ,’ इटालियन टिभि कार्यक्रम टिकिटाकामा उनले भने।
‘उनीहरुले माउरिजीयो सारीलाई भित्र्याउन मासिमिलिया एलेग्रीलाई हटाए। रोनाल्डो र उनको टिमले क्लब सम्हाल्ने भन्दै सारीलाई पनि एक सिजनपछि नै हटाए,’ उनले थपे।
‘बोनुसि र चिएलिनी दुई असाधारण खेलाडी जस्तो देखिन्छन्। विश्वको चौथो उत्कृष्ट लिगमा उनीहरुले ९ पटक उपाधि जितिसकेका छन्। तिनीहरुले आफैंमा सकिएको बार्सिलोनालाई हराए अनि भोलिपल्ट मिडियाले युभेन्टस अनुकरण गर्न लायक टिम हो भनेर समाचार लेखे, ब्रुनोले भने,‘क्रिस्टियानो रोनाल्डोले शासन गरेको युभेन्टस एक लाजमर्दो टिम हो।’