परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निश्चित व्यक्तिको प्रधानमन्त्री बन्ने सपना पूरा भएन भने त्यसैलाई प्रतिगमन भनेर व्याख्या गर्ने गरिएको बताएका छन्। आज प्रतिनिधिसभा बैठकमा दलका तर्फबाट बोलेका ज्ञवालीले निश्चित व्यक्ति पदमा पुग्नपाउँदा अग्रगमन र पदमा पुग्ननपाउँदा प्रतिगमन हुने भन्ने प्रश्न गरेका हुन्।
पुर्नस्थापित प्रतिनिधिसभाको चौथो बैठकमा आज बोलेका मन्त्री ज्ञवालीले सरकारले दुइटा मुद्दा हारे पनि अदालतको आलोचना नगरेको बताए।
अदालतले प्रतिनिधिसभा विघटन बदर गरिदिएको थियो। एमाले तथा माओवादी एकीकरण गरी बनाएको नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भए पनि सर्वोच्चले फैसला गरिदिएको थियो। यसतर्फ संकेत गर्दै ज्ञवालीले दुवै मुद्दा हारेको उल्लेख गरेका हुन्।
उनले सरकारका तर्फबाट ल्याइएका विधेयकहरू संसदमा टेबुल गर्न नपाएको पनि बताए। संसदको पहिलो बैठकमा अध्यादेश पेश गर्न नदिइएको उनको भनाइ थियो।