स्पेनिस ला लिगामा आइतबार राति बार्सिलोना र रियल सोसिडाडबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति १ः४५ बजे शुरु हुनेछ। उक्त खेलअघि बोल्दै रियल सोसिडाडका मुख्य प्रशिक्षक एम्यानोल एल्गुसिलले बार्सिलोनाका कप्तान लियोनल मेसीलाई रोक्न मुश्किल हुने बताएका छन्।
‘मेसीलाई रोक्न असम्भव छ। मलाई लाग्छ, कुनै पनि प्रशिक्षक, टिम वा खेलाडीमा उनलाई रोक्न सक्ने क्षमता छैन,’ एल्गुसिलले भने, ‘उनले यो कुरा देखाइसकेका छन् र शारिरीक रुपमा बलियो रहुञ्जेल देखाउने छन्।’ एल्गुसिलले बार्सिलोनासँगको प्रतिस्पर्धा आफ्नो लागि सुन्दर चुनौती भएको बताएका छन्।
‘हामीले घरमा खेलेका थियौं, गयको वर्ष हामीले बराबरी गर्याैं। यो वर्ष सुपर कपमा पनि बार्सिलोनाले हामीविरुद्ध कसरी खेल्यो हामीले देख्यौं। बार्सिलोनालाई कडा चुनौती दिन र मौकाको फाइदा उठाउन हामी सक्षम छौं,’ उनले भने।
पछिल्ला खेलहरुमा बार्सिलोनाका कप्तान मेसीले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिइरहेका छन्। सबै प्रतिस्पर्धामा गरी मेसीले पछिल्लो ९ खेलमा १० गोल र ५ असिस्ट गरेका छन्। एल्गुसिलले यिनै कुराहरुलाई दृष्टिगत गर्दै मेसीलाई रोक्नु आफ्नो टिमका लागि ठूलो चुनौती हुने जानकारी दिएका हुन्।
बार्सिलोना र रियल सोसिडाड हालसम्म २७ खेलमा आमनेसामने भएका छन्। तीमध्ये बार्सिलोनाले १८ खेल र सोसिडाडले ५ खेल जितेको छ। त्यस्तै, ४ खेल बराबरीमा सकिएको छ। दुई टोलीबीचको पछिल्लो ५ खेलमा ४ खेल बार्सिलोनाले जितेको छ र एक खेल बराबरीमा सकिएको छ।