भारतमा कोरोना भाइरसबाट एकै दिनमा झण्डै ४४ हजार संक्रमित थपिएका छन्। सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४३ हजार ८ सय ४६ जना कोरोना भाइरसबाट संक्रमित भएका हुन्।
सोही अवधिमा अरु २२ हजार ९ सय ५६ जना भने संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त भएकाहरुको संख्याभन्दा संक्रमितहरुको संख्या झण्डै दोब्बर रहेकाले संक्रमित अवस्थामै रहेकाहरुको कुल संख्यामा बृद्धि हुँदै गएको छ।
भारतमा अहिले कुल संक्रमितको संख्या एक करोड १५ लाख ९९ हजार १ सय ३० पुगेको अधिकारीहरुले जनाएका छन्। कोरोना भाइरसबाट संक्रमित भएर मृत्यु भएकाहरुको संख्या भारतमा एक लाख ५९ हजार ७ सय ५५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ती मध्ये १ सय ९७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो। सोही अवधिमा पन्जाबमा मात्रै एक हजार ५ सय २९ जना संक्रमित भएका छन्। भारतमा अहिलेसम्म चार करोड ४६ लाख ३ हजार ८ सय ४१ खोप लगाइएको छ। शनिबारसम्म देशभरी २३ करोड ३५ लाख ६५ हजार १ सय१९ जनाको कोरोना परीक्षण गरिएको छ।