नवीन्द्रराज जोशीको परिवारले सरकारले दिने १० लाख रूपैयाँ लिन अस्वीकार गरेका छन्। जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले सरकारले दिने भनेको रकम लिन जोशी परिवारले अस्वीकार गरेको बताए।
बिहीबारको मन्त्रिपरिषद बैठकले मस्तिष्कघातपछि उपचार गराइरहेका जोशीलाई सरकारका तर्फबाट १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो।
शुक्रबार बिहान उपप्रधानमन्त्री ईश्वर पोखरेल जोशीको स्वास्थ्य अवस्थाबारे बुझ्न नर्भिक अस्पताल पुगेका थिए। उनले सरकारले उपचारका लागि १० लाख सहयोग गर्ने निर्णय गरेको जानकारी दिएका थिए।
जोशीले वीर अस्पतालदेखि विभिन्न ठाउँमा लाखौंको अक्षयकोष यसअघि नै स्थापना गरेको उल्लेख गर्दै उनले सकारले उपलब्ध गराउने रकमले औषधि पनि किन्न नपुग्ने बताए।
फागुन १४ मा मस्तिष्कघात भएपछि जोशीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।