सोमबार राति भएको स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब बार्सिलोनाले रियल सोसिडाडलाई फराकिलो अन्तरले पराजित ग¥यो। सोसिडाडलाई उसैको मैदानमा बार्सिलोनाले ६–१ गोलले पराजित गरेको हो।
बार्सिलोनाको फराकिलो जितमा कप्तान लियोनल मेसी र सर्जिनो डेस्ट समान दुई दुई गोल गरे गर्दा एन्टोनी ग्रिजम्यान र ओस्मान डेम्बेलेले एक–एक गोल गरे। खेलको ३७ औं मिनेटमा ग्रिजम्यानले बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए। ४३ औं मिनेटमा डेस्टले गोल गर्दै पहिलो हाफमा बार्सिलोनाको अग्रता दोब्बर बनाए।
दोस्रो हाफको ५३ औं मिनेटमा डेस्टले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना ३–० ले अगाडि बढ्यो। ५६ औं मिनेटमा मेसीले गोल गर्दै बार्सिलोनाको अग्रता ४–० मा पुर्याए। खेलको ७१ औं मिनेटमा डेम्बेलेले गोल गर्दा पाहुना टोलीले ५–० ले अघि बढेको थियो। खेलको ७७ औं मिनेटमा अन्दर बारेनेत्जियाले घरेलु टोली सोसिडाडका लागि सान्तवना गोल गरे। त्यसैगरी, खेलको ८९ औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको फराकिलो जीत पक्का गरे।
रियल सोसिडाडविरुद्ध बार्सिलोनाले २१ वर्षपछि ६ गोल गरेको हो। यसअघि सन् २००० को अक्टोबर १४ मा बार्सिलोनाले सोसिडाडविरुद्ध ६ गोल गरेको थियो। नयाँ अध्यक्षका रुपमा जोन लापोर्टा आएसँगै बार्सिलोनाको खेलहरु सुधारिएको मुख्य प्रशिक्षक रोनाल्ड कोएम्यानले स्वीकार गरेका छन्। व्यवस्थापकीय अवस्था राम्रो हुँदै गएकाले खेलाडीहरु ऊर्जाशील भएर मैदान उत्रिएको उनले बताएका छन्।
खेलको ‘किङ अफ दि म्याच’ बनेको मेसीले थप दुई कीर्तिमान आफ्नो नाममा गराएका छन्। हाल मेसी बार्सिलोनाबाट सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका छन्। मेसीले बार्सिलोनाबाट ७ सय ६८ औं खेल पूरा गरेका छन्। यसअघि उक्त कीर्तिमान जाभीको नाममा थियो। जाभीले बार्सिलोनाका लागि ७ सय ६७ औं खेल खेलेका थिए।
त्यस्तै मेसी एउटा लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्। सोसिडाडविरुद्ध दुई गोल गरेसँगै उनले ला लिगामा ४ सय ६७ गोल गरेका छन्। यसअघि सो कीर्तिमान पेलेको नाममा थियो। पेलेले क्याम्पेओनाटो पाउलिस्टामा ४ सय ६६ गोल गरेका थिए। यद्यपी, कतिपय तथ्याङ्कले उक्त लिगमा पेलेले ४ सय ७० गोल गरेको देखाएका छन्। उक्त लिगमा पेलेले गरेका गोल संख्या यकिन नभएका कारण मेसीको यो कीर्तिमान विवादस्पद रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्।