नेपाल, बंगलादेश र कीर्गिस्तान यू–२३ बीचको त्रिदेशीय फुटबल मंगलबारबाट शुरु हुँदैछ। उद्घाटन खेलमा बंगलादेश र कीर्गिस्तान यू–२३ बीच प्रतिस्पर्धा हुनेछ। सो खेल मंगलबार ५ः३० बजे शुरु हुनेछ।
उक्त खेलअघि बोल्दै बंगलादेशका मुख्य प्रशिक्षक जेम्स डेले आफ्नो टोलीमा नयाँ खेलाडीहरु रहेको बताएका छन्। त्यस्तै, उनले नेपाल थ्रि–नेसन्स कपको उपाधि जित्न सक्षम रहेको पनि बताए। ‘नेपाल आयोजक राष्ट्र भएकाले उपाधिका लागि सक्षम छ,’ उनले भने, ‘हामीले आफ्नो प्रदर्शन सुधार्ने आशा राखेका छौं। यो नै हाम्रो मुख्य प्राथमिकता हो।’
त्यस्तै, कीर्गिस्तान ओलम्पिक टिमका प्रशिक्षक जोल्डोशोभ नुरबेकले प्रतियोगिता आफ्नो टोलीका लागि सिकाइको माध्यम हुने बताएका छन्। ‘हामीले चाहे जति तयारी गर्न सकेनौं,’ उनले भने, ‘तर, बंगलादेश र नेपालको राष्ट्रिय टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने आशा गरेका छौं’
नेपाली टोलीका प्रशिक्षक बाल गोपाल महर्जनले बंगलादेशविरुद्ध पछिल्लो खेलभन्दा सुधार गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्। ‘हाम्रो टोली राम्रो छ र तयारी पनि,’ उनले भने, ‘हामीलाई थाहा छ, राम्रो तयारीले राम्रो नतिजा ल्याउँछ।’
नेपालले बिहीबार कीर्गिस्तान र शनिबार बंगलादेशसँग खेल्नेछ। खेलहरु राउण्ड रोबिनको आधारमा हुनेछ। र,शीर्ष २ टोलीले उपाधिका लागि आउँदो सोमबार प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेताले ५ हजार दोस्रो हुने टोलीले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछ।
दशरथ रंगशालामा मंगलबार सुरु हुने थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङले गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएकाे छ।