नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूहरुले होइन स्पष्टीकरण पार्टीका अध्यक्ष केपी शर्मा ओलीले दिनुपर्ने बताएका छन्। खनाल–नेपाल समूह निकट विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रावलले ओलीले नै विधान उल्लंघन गरेको आरोप लगाएका छन्।
त्यस्तै, उनले पार्टी विधानको निरन्तर उल्लंघन गरेकाहरुले आफूहरुलाई स्पष्टीकरण सोध्नु लाजमर्दो भएको पनि जानकारी दिए। ‘पार्टी विधानविपरीत काम गर्ने व्यक्तिले अनुशासन किन मान्नु भएन भनेर स्पष्टीकरण सोध्न लाज मान्नुपर्ने हो’ उनले भने।
केन्द्रीय सदस्य मनोनयन, महाधिवेशनबाट निर्वाचित पदाधिकारीको पदमुक्त, राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन आदि कार्यहरु विधान विपरीत रहेको रावलले जानकारी दिए। नेता रावलले अब नेपाली जनताले ओलीलाई प्रतिनिधिसभा विघटन, नागरिकता विधेयकसंसदमा पेश हुन नदिएकोबारे स्पष्टीकरण सोध्ने बताए।