नेपाल विद्यार्थी संघ(नेविसंघ) र त्रिभुवन विश्वविद्यालयबीच भएको छात्रवृत्तिसम्बन्धी सहमति कार्यान्वयन गर्न ज्ञापनपत्र बुझाइएको छ। नेविसंघका विभिन्न क्याम्पसका प्रतिनिधिहरुले मंगलबार त्रिविको व्यवस्थापन संकायका डिनलाई उक्त ज्ञापनपत्र बुझाएका हुन्।
ज्ञापन पत्रमा त्रिवि व्यवस्थापन संकायले २०७६ साल श्रावण २४ गते भएको ऐतिहासिक सहमति कार्यान्वयन नभएको भन्दै आपत्ति प्रकट गरिएको छ। ‘नेविसंघ र त्रिवि, व्यवस्थापन संकायबीच पटकपटक भएका सहमतिहरु लागू गर्न व्यवस्थापन संकायले तत्परता नदेखाएको र पटकपटक त्रिवि व्यवस्थापन संकायलाई ज्ञापन पत्र बुझाइ विद्यार्थीहरुका समस्या सुनाउँदा व्यवस्थापन संकायले वेवास्ता गरेकामा नेविसंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ ज्ञापनपत्रमा भनिएको छ।
ज्ञापन पत्रमा नेविसंघले व्यवस्थापन संकाय प्रशासनलाई विभिन्न ३ बुँदाको तत्काल जवाफ र स्पष्टीकरण पनि माग गरेको छ। ज्ञापनपत्रमा नेविसंघ शंकरदेव क्याम्पसका दीपक ओझा र मिलन खतिवडा, नेपाल कमर्स क्याम्पसका विष्णुहरी खड्का, त्रिवि समितिका योगेन्द्र रावल, पब्लिक युथ क्याम्पसका जयराम डंगोल, पद्मकन्या क्याम्पसकी सगुन कँडेल, पाटन पल्टिपल क्याम्पसका राजेश काफ्ले, रविन्द्र रोकाया, गोपी भण्डारी र शुसिल खड्काले हस्ताक्षर गरेका छन्।