बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको हत्या गर्ने प्रयास गरेको आरोपमा १४ जनालाई मृत्युदण्ड फैसला सुनाइएको छ। बंगलादेशको अदालतले प्रधानमन्त्री हसिनाका हत्या गर्ने प्रयास गरेका १४ इस्लामिक चरमपन्थी लडाकुलाई मृत्युदण्डको फैसला सुनाएको हो।
मृत्युदण्डको फैसला सुनाइएका १४ जनामध्ये ९ जना बंगलादेशको जेलमा रहेका र अन्य ५ जना फरार रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्। त्यहाँको विशेष अदालतले उनीहरुलाई राजद्रोह र आपराधिक गतिविधिको मुद्दामा दोषी ठहर गरेको हो।
हसिनाको हत्या गर्ने उद्देश्यले सन् २००० बम आक्रमण भएको थियो। हसिनाले लिएको धर्मनिरपेक्षताको नीतिको विरोधमा इस्लामिक कट्टरपन्थी समूहले हसिनाको हत्याको प्रयास गरेको बताइएको थियो।
हसिनाले सम्बोधन गर्ने भनिएको सभास्थलमा बम राखिएको थियो। उक्त बमलाई सुरक्षाकर्मीले निष्क्रिय बनाएका थिए। घटनामा ती १४ इस्लामिक चरमपन्थी लडाकुको संलग्नता रहेको पाइएको हो।