नेपाली फुटबल टिमका डिफेन्डर तथा पूर्वकप्तान विराज महर्जनले थ्री–नेसन्स कपपछि सन्यास लिने भएका छन्। दशरथ रंगशालामा जारी नेपाल, बंगलादेश र कीर्गिस्तान यू–२३ सम्मिलित थ्री–नेसन्स कप खेलेपछि उनले राष्ट्रिय टोलीबाट सन्यास लिने भएका हुन्।
विराजले नयाँ पुस्तालाई अवसर दिनुपर्ने समय आएकाले आफू सन्यास लिने मनस्थितिमा पुगेको बताएका छन्। उनले सन् २००८ मार्च २५ मा पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट नेपालको राष्ट्रिय टिममा डेब्यू गरेका थिए।
विराजले आफ्नो कप्तानीमा नेपाललाई ३ वटा उपाधि जिताएका थिए। उनले कप्तानीको जिम्मा सम्हाल्दा नेपालले बंगबन्धु गोल्डकप, १२औं साग र सोलिडारिटी कपको उपाधि जितेको थियो। नेपालको राष्ट्रिय टोलीबाट उनले ७५ खेल खेलिसकेका छन्।
विराजले सन् २००७ बाट थ्रीस्टार क्लबबाट व्यवसायिक फुटबल यात्रा सुरु गरेका थिए। उनी २०१६ मा मनाङ मस्र्याङ्दी क्लबमा आबद्ध भएका थिए। सन् २०१९ मा उनी मच्छिन्द्र क्लबमा गएका थिए। उनले खेलेका तीन वटै क्लबबाट लिग जितेका छन्।