नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूमाथि अध्यक्ष केपी शर्मा ओलीले तेर्स्याएका १० बुँदे प्रश्नको १३ बुँदामा प्रतिवाद गरेका छन्।
नेता नेपालले ८ पृष्ठको स्पष्टीकरणपत्रमा ओलीलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को मतियारको संज्ञा दिएका छन्।
नेकपा फुटको संघारमा पुग्दा प्रचण्डसँग मिलेर ओलविरुद्ध लागेको आरोप खेपेका नेपालले उल्टै ओलीलाई नै प्रचण्डको मतियार भनेका छन् ।
ओलीले आफूलाई प्रचण्डको मतियार भनेको विषयमा नेता नेपालले प्रतिप्रश्न गरेका छन्, 'पार्टी एकताको पूर्वसन्ध्यादेखि प्रतिनिधि सभाको विघटनसम्मको अवधिमा तपाईंले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग गर्नुभएका सम्झौता, निरन्तर गर्ने गरेको गोप्य बैठक र सहकार्यको आधारमा तपाईं नै उहाँको सबभन्दा ठूलो ‘मतियार’ हो भन्न सकिन्न र ? तर यस्तो दृष्टिकोण ममा छैन।'
यस्तै नेपालले सर्वोच्च अदालतले नेकपा एमालेलाई पूर्ववतः अवस्थामा फर्काएपछि पनि एकलौटी ढंगले केन्द्रीय कमिटीको बैठक डाकेर पार्टी विधानको उल्लंघन किन गरेको भन्दै प्रश्न गरेका छन्।