जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल हटाउनुपर्ने बताएका छन्। शुक्रबार प्रेस मञ्च नेपालले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले ओली रहेसम्म प्रतिगमनको खतरा रहिरहने बताएका छन्।
प्रधानमन्त्री ओलीलाई हटाउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पहल गर्नुपर्ने आशय उनले व्यक्त गरे। कांग्रेस अघि बढे जसपाले सघाउने पनि उनले जानकारी दिए। ‘प्रधानमन्त्री ओलीलाई हटाउन कांग्रेस अघि बढोस्, हामी समर्थन गर्न तयार छौं,’ उनले भने,‘यो प्रतिगमनकारी सत्ता हो, समावेशितालाई समाप्त पार्छ। हामी ओली सरकारमा जाँदैनौं।’
अध्यक्ष यादवले मुद्दा खारेजी र बन्दी रिहाइबारे सरकारसँग छलफल भए पनि सत्ता साझेदारी नहुने बताएका छन्। सरकारमा जाने नजाने भन्ने विषयमा जसपाभित्र विवाद देखिएको बेला अध्यक्ष यादवले ओली सरकारसँग कुनै हालतमा सहकार्य नहुने स्पष्ट पारेका हुन्।