नेकपा एमालेका नेता महेश बस्नेत र जनता समाजवादी पार्टी(जसपा)का सांसद रशेमलाल चौधरीबीच भेटवार्ता भएको छ। चौधरीलाई भेट्न बस्नेत बिहीबार डिल्लीबजार कारागार गएका हुन्।
जसपा सरकारमा जान मुख्य सर्त बनेका चौधरी र ओली निकट बस्नेतबीचको भेटलाई महत्त्वका साथ हेरिएको छ। सरकारमा सहभागी हुने वा नहुने भन्नेमा जसपा नै दुई भागमा विभाजित भएको छ। डा. बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतका नेताहरुले आलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताउँदै आएका छन्।
उता, महन्थ ठाकुर र राजेन्द्र महतो सहमति भए ओली सरकारमा सामेल हुने मनस्थितिमा छन्। सांसद चौधरीले आफूलाई पार्टीको निर्णय मान्य हुने बताएका थिए। बिहीबार गृहमन्त्री रामबहादुर थापाले पनि चौधरीको रिहाइको लागि पहल भइरहेको आशय व्यक्त गरेका थिए।
प्रधानमन्त्री ओली कुनै पनि हालतमा आफू नेतृत्वको सरकार टिकाउने प्रयासमा छन्। नेता बस्नेत र चौधरीबीचको भेटलाई पनि जसपालाई सरकारमा सामेल गराउने प्रयासका रुपमा लिइएको छ। चौधरीलाई भेट्नुअघि पूर्वमन्त्री पनि रहेका बस्नेतले गृह मन्त्रालय र सरकारी वकिलसँग पनि छलफल गरेका थिए।