युभेन्टस इटालियन लिग सिरी ए को सर्वाधिक सफल क्लब हो। युभेन्टसले हालसम्म ३६ पटक सिरी ए को उपाधि उचालिसकेको छ। युभेन्टसले यसअघिका ९ सिजन लगातार उपाधि जितेको थियो।
तर, लगातार १० औं पटक सिरी ए च्याम्पियन बन्ने लक्ष्य बोकेर सिजनको शुरुवात गरेको युभेन्टसले अपेक्षाकृत प्रदर्शन गर्न सकेन। सिरी ए को पहिलो खेलमा साम्पडोरियालाई ३–० गोलले पराजित गर्दै युभेन्टसले लिगमा शानदार शुरुवात गरेको थियो।
तर, त्यसपछिका ३ खेलमा लगातार बराबरी खेल्यो। पाँचौ खेलमा स्पेजियालाई ४–० गोलले पराजित गरेको युभेन्टसले छैटौं खेलमा फेरि बरारबीमात्र खेल्यो। त्यस्तै सातौं खेलमा जीत निकाल्दा आठौं खेलमा बराबरीमा चित्त बुझायो।
त्यसपछिका २ खेलमा विजयी भएको उसले ११ औं खेलमा बराबरी गर्याे। त्यसपछिका ५ खेलमा लगातार जीत निकाल्दै युभेन्टसले आफूलाई लयमा फर्कायो। त्यससँग उसको उपाधि यात्रा पनि बलियो बनेको थियो। तर, १७ औं खेलमा युभेन्टस इन्टर मिलानसँग पराजित भयो। त्यसपछिका ३ खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जीत दर्ता गर्याे।
लिगको आफ्नो २१ औं खेलमा युभेन्टस नेपोलीसँग पराजित भयो। २२ औं खेलमा जीत निकालेको युभेन्टसले २३ औं खेल बराबरीमा सकायो। त्यसपछि ३ खेल लगातार जीतेको युभेन्टस २७ औं खेलमा बेनेभेन्टोसँग पराजित भयो।
समग्रमा युभेन्टसले लिगमा २७ खेल खेलिसकेको छ। तीमध्ये १६ खेलमा मात्र जीत निकालेको छ। ७ खेलमा बराबरी र ४ खेलमा पराजित युभेन्टस हाल ५५ अंकको साथ तालिकाको तेस्रो स्थानमा छ। एक खेल कम खेलेको युभेन्टस दोस्रो स्थानको एसी मिलानभन्दा ४ अंकले पछि छ।
युभेन्टसको जति नै खेल खेलेको इन्टर मिलान ६५ अंकका साथ तालिकाको शीर्षस्थानमा छ। लिगमा जम्माजम्मी ११ खेल खेल्न बाँकी रहेको अवस्थामा युभेन्टस शीर्षस्थानको टोलीभन्दा १० अंकले पछि रहेको छ। युभेन्टसले खेल्न बाँकी ११ मध्ये ४ खेल उसका लागि निकै कठिन हुनेछ। नेपोली, एसी मिलान, इन्टर मिलान र एटलान्टासँगको खेल युभेन्टसका लागि चुनौतीपूर्ण छन्।
उपाधि जित्नका लागि युभेन्टसले आफ्ना बाँकी सबै खेलमा जीत निकाल्नु मात्र पर्याप्त हुने अवस्था छैन। इन्टर मिलानको प्रदर्शन नसोचिएको रुपमा खराब भएमा मात्र युभेन्टस र एसि मिलान उपाधि दौडमा फर्कन सक्ने अवस्था रहन्छ। तर, इन्टर मिलानको प्रदर्शन खराब हुने अनुमान गर्न सकिन्न। लिगमा उसले २ खेलमा मात्र हार बेहोरेको छ।
स्वयम युभेन्टसका मुख्य प्रशिक्षक आन्द्रेय पिर्रोले आफूहरु उपाधिबाट टाढा भएको स्वीकार गरेका छन्। तर, नजिता आफ्नो पक्षमा पार्न अन्तिम समयसम्म संघर्ष गरिरहने उनले जानकारी दिएका छन्।
फुटबल विश्लेषकहरुले पनि यस सिजन युभेन्टसले उपाधि जित्ने सम्भावना टर्दै गएको प्रतिक्रिया दिइरहेका छन्। युरोपको च्याम्पियन बन्ने लक्ष्यका साथ विश्व फुटबलका स्टार क्रिस्टियानो रोनाल्डोलाई क्लबमा भित्र्याएको युभेन्टस यस सिजन पनि च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको थियो।
च्याम्पियन्स लिगबाट बारिएपछि युभेन्टस र रोनाल्डोको आलोचना पनि भएको थियो। युभेन्टसले यस सिजन सुपरकोपा इटालियनाको उपाधि जितिसकेको छ। त्यस्तै, कोपा इटालियाको उपाधिका लागि मे १९ मा एटलान्टासँग भिड्नेछ।