फ्रान्समा कोरोना भाइरसबाट एकैदिनमा थप झण्डै ४२ हजार जना संक्रमित भएका छन्। सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा फ्रान्समा ४१ हजार ८ सय ६९ जना कोरोना भाइरसबाट संक्रमित भएका हुन्।
त्यसैगरी अरु ८ सय ७९ जनाको कारोना भाइरसकै कारण मृत्यु भएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ। फ्रान्समा अहिलेसम्म कोरोना भाइरसबाट ४४ लाख ६५ हजार ९ सय ५६ जना संक्रमित भएको मन्त्रालयको तथ्यांक छ।
अघिल्लो बर्ष सन् २०२० को जनवरीदेखि अहिलेसम्म फ्रान्समा कोरोना भाइरसका कारण ९४ हजार २ सय ७५ जनाको मृत्यु भएको छ। कुल संक्रमितहरुको संख्याका आधारमा फ्रान्स पाँचौ अग्रस्थानमा रहेको छ।
सवैभन्दा बढी अमेरिकामा संक्रमित रहेका छन् भने त्यसपछि क्रमशः ब्राजिल, भारत र रुसमा धेरै संक्रमितहरु रहेका छन्। फ्रान्समा भन्दा पछाडी छैठौ स्थानमा बेलायत रहेको छ।