अघिल्लो वर्षजस्तै यस वर्षको होलीमा पनि खासै रौनकता छैन। विश्वभर कोरोना कहरको दोस्रो लहर शुरु भएपछि नेपालमा यसपालीको होली पनि फिक्का हुने भएको हो।
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सावधानी अपनाएर होली मनाउन आग्रह गरेकी छिन्। कोरोना महामारी नसकिएको जानकारी दिँदै उनले कोरोनाबाट बच्न स्वास्थ्य सावधानीका उपाय अपनाउन आह्वान गरेकी हुन्।
लोक संस्कृतिको प्रवर्धन गर्ने र समस्त नेपालीहरू बीच आपसी सद्भाव¸ सहिष्णुता¸आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धिगरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन होलीले मद्दत गरोस् भन्ने शुभकामना उनले व्यक्त गरेकी छिन्।
‘यो पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति,विसङ्गति,कुरीति एवं कुपरम्पराहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिसहितको सभ्य,सुसंस्कृत एवं न्यायपूर्ण समाजको निर्माण र संवर्द्धन गर्न उत्प्रेरित गरिरहोस् भन्ने कामना गर्दछु,’ उनको सन्देशमा भनिएको छ।
त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि होलीको शुभकामना दिएका छन्। शुभकामना सन्देश जारी गर्दै उनले होली पर्वले नेपाली समाजलाई एक सूत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता, प्रेम र भाइचाराको अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।