भारतमा कोरोनाबाट एकैदिन ३ सय १२ जनाको मृत्यु भएको छ। सन् २०२१ मा पहिलो पटक कोरोनाबाट यति धेरै मानिसको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।
गत वर्षको डिसेम्बर २४ यता पहिलो पटक यो भाइरसको संक्रमणबाट एकैदिनमा यति धेरै मानिसहरूको ज्यान गएको हो। भारतमा पछिल्लो समय कोरोनाभाइरसको दोस्रो लहर तीव्र रूपमा फैलिरहेको छ।
शनिबारमात्रै त्यहाँ ६२ हजार ५०० जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितको यो संख्या पछिल्ला १६३ दिनमा सबैभन्दा धेरै हो। अहिले भारतभरि सक्रिय संक्रमितको संख्या ४ लाख ८५ हजार छ।
भारतमा अहिलेसम्म १ करोड १९ लाख मानिस कोरोना संक्रमित भएका छन् भने १ लाख ६१ हजार जनाको मृत्यु भएको छ।