आजबाट उपत्यकाका विभिन्न ठाउँमा मेलम्चीको पानी वितरण हुने भएको छ। परीक्षणका रुपमा मेलम्चीको पानीको वितरण शुरु गरिने भएको छ। मेलम्ची खानेपानी आयोजनाले आजदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन थाल्नेछ।
आइतबार ४ करोड लिटर मेलम्चीको पानी वितरण लाइनमा थप हुनेछ। आइतबार नै खुमलटालको नयाँ पानी ट्यांकीको परीक्षण गरिनेछ। बाँकी क्षेत्रमा भने पुरानै पानी ट्यांकीमार्फत पानी वितरण हुनेछ। अहिले पानी ट्यांकीहरु भर्ने काम भइरहेको छ।
आइतबारदेखि अनामनगर क्षेत्रका १६ सय धारामा भने नयाँ वितरण लाइनमार्फत पानी वितरण गरिनेछ। सो क्षेत्रमा २४ घण्टा नै पानी दिएर लाइनको अवस्था जाँच गरिनेछ।
सुन्दरीजलको पानी प्रशोधन केन्द्रको परीक्षण गर्दै प्रशोधित पानी वितरण प्रणालीमा पठाउन थालिएको हो। चैत १५ देखि २७ गतेसम्म दैनिक ८ करोड लिटर र चैत २७ पछि १७ करोड लिटर पानी काठमाडौंमा वितरण गर्ने तालिका यसअघि नै तय भएको थियो।
तालिकाअनुसार आयोजनाले चैत २७ देखि असार २६ गतेसम्म दैनिक १७ करोड लिटर पानी प्रणालीमा पठाएर परीक्षण गर्नेछ। यसो गर्दा पानी प्रशोधन केन्द्रको परीक्षण पनि हुनेछ। अहिलेसम्म सुख्खा मौसममा काठमाडौं उपत्यकामा दैनिक ६ करोड लिटर मात्र पानी वितरण हुँदै आएको छ। आजबाट थप ४ करोड लिटर पानी वितरण लाइनमा आउनेछ।